२०८३, आश्विन ७ गते

समय लोड हुँदैछ...

शुक्रबारदेखि नेपालमा हुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना

शुक्रबारदेखि नेपालमा हुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना

सोमवार, आश्विन ५ २०८३
सोमवार, आश्विन ५ २०८३
  • पोखरा - उत्तर अन्डमान सागर तथा आसपासको क्षेत्रमा विकसित न्यूनचापीय प्रणालीको प्रभावका कारण नेपालमा बुधबारदेखि वर्षाको गतिविधि क्रमशः बढ्ने र शुक्रबारदेखि देशका विभिन्न स्थानमा हुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबार अपराह्न जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। ती प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा समेत हुन सक्ने महाशाखाले जनाएको छ।

    त्यसैगरी मधेस प्रदेश तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेशका पनि केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

    उक्त अवधिमा देशका अधिकांश स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

    बुधबारदेखि मौसम थप सक्रिय हुने

    महाशाखाका अनुसार उत्तर अन्डमान सागर तथा आसपास विकसित न्यूनचापीय क्षेत्र हाल बंगालको खाडीको मध्य भूभाग आसपास रहेको छ। उक्त प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यूनचापीय क्षेत्रका रूपमा पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना रहेको छ।

    यसको प्रभावका कारण बुधबारदेखि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने पूर्वानुमान गरिएको छ।

    बाढी, पहिरो र डुबानको जोखिम

    सम्भावित भारी वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम बढ्ने भएकाले सहरी तथा तराई क्षेत्रमा डुबानको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    ठूला तथा साना नदी, नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटनलगायतका क्षेत्रमा असर पर्न सक्ने विभागको चेतावनी छ। नदी तथा खोला आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सम्बन्धित सबै निकायलाई आग्रह गरिएको छ।

    किसान र हिमाली क्षेत्रका लागि विशेष सावधानी

    केही स्थानबाट धानबाली भित्र्याउने समयसम्बन्धी मौसम जानकारी माग भइरहेकाले कृषि विज्ञको सल्लाहअनुसार मात्र बाली भित्र्याउने वा अन्य कृषि कार्य अघि बढाउन महाशाखाले अनुरोध गरेको छ।

    त्यसैगरी मौसम प्रणालीको प्रभावका कारण देशका हिमाली भूभागमा भारीसम्म हिमपात हुन सक्ने भएकाले पर्वतारोही तथा हिमाली क्षेत्रमा जाने सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

    मौसम विभागले सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह, यातायात तथा पर्यटनसम्बन्धी निकायसहित सर्वसाधारणलाई पूर्वसूचना, सुरक्षित स्थानको पहिचान तथा आवश्यक तयारीमा विशेष ध्यान दिन आग्रह गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend