२०८३, आश्विन ७ गते

समय लोड हुँदैछ...

आज राष्ट्रिय धान दिवस :

हिलोमा धान रोप्दै, दही–चिउरा खाँदै असार १५ मनाइँदै

हिलोमा धान रोप्दै, दही–चिउरा खाँदै असार १५ मनाइँदै

सोमवार, आषाढ १५ २०८३
सोमवार, आषाढ १५ २०८३
  • 11.jpg
    undefined

    काठमाडौं– नेपाली कृषक समुदायको महान् पर्व तथा राष्ट्रिय धान दिवस आज देशभर हिलोमा धान रोप्दै र दही–चिउरा खाएर उल्लासका साथ मनाइँदै छ। खेतीपातीको मुख्य मौसम असारको मध्य दिन पर्ने भएकाले यो दिनलाई नेपाली समाजमा 'दही–चिउरा खाने पर्व' का रूपमा पनि विशेष महत्वका साथ मनाउने गरिन्छ।

    धान रोपाइँको चटारोमा दिनभर खेतमा खटिने किसानले शरीरलाई शीतलता र ऊर्जा प्रदान गर्ने विश्वासका साथ दही–चिउरा खाने परम्परा रहिआएको छ। अहिले यो परम्परा किसानमा मात्र सीमित नभई विभिन्न पेशा, व्यवसाय र शहरमा बसोबास गर्ने नेपालीले पनि असार १५ मा दही–चिउरा खाएर पर्व मनाउने गरेका छन्।

    दहीको धार्मिक र सांस्कृतिक महत्व

    नेपाली संस्कृतिमा दहीलाई शुभताको प्रतीक मानिन्छ। कुनै शुभकार्य, यात्रा, परीक्षा, वैदेशिक रोजगारी वा अन्य महत्वपूर्ण काममा निस्कनुअघि दही–अक्षता लगाउने तथा सगुनका रूपमा दही खुवाउने परम्परा आज पनि जीवित छ। दही खाएर यात्रा गर्दा शुभफल प्राप्त हुने जनविश्वास रहिआएको छ।

    इतिहासमा समेत दहीको विशेष महत्व उल्लेख पाइन्छ। जनविश्वासअनुसार गुरु गोरखनाथले नेपालका एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खुवाउँदै उनी पराक्रमी हुने आशीर्वाद दिएका थिए।

    स्वास्थ्यका लागि पनि लाभदायी

    वैज्ञानिक र आयुर्वेदिक दृष्टिले पनि दही अत्यन्त पौष्टिक खाद्य मानिन्छ। यसले पाचन प्रणालीलाई सुदृढ बनाउने, शरीरमा लाभदायी जीवाणुको सन्तुलन कायम गर्ने तथा गर्मी मौसममा शरीरलाई शीतल राख्न मद्दत गर्ने चिकित्सकहरूको भनाइ छ।

    आयुर्वेदमा "भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्" अर्थात् भोजनपछि मोही पिउनेलाई वैद्यको आवश्यकता पर्दैन भन्ने उक्ति प्रसिद्ध छ। पखालाजस्ता समस्यामा पनि दही–चिउरालाई घरेलु उपचारका रूपमा उपयोग गरिने गरिन्छ।

    हिलो, गीत र रोपाइँको उत्सव

    असार १५ को अर्को आकर्षण भनेको धान रोपाइँसँगै गाउँघरमा गुञ्जिने असारे भाका हुन्। किसानहरू:

    "छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला,
    बनाई कुलो लगाई पानी आएर गोडौँला..."

    जस्ता लोकगीत गाउँदै सामूहिक रूपमा रोपाइँमा रमाउँछन्। खेतका गरामा हिलो छ्यापाछ्याप गर्दै युवायुवतीहरूले मनोरञ्जन गर्ने परम्पराले यो पर्वलाई अझ जीवन्त बनाएको छ। नेपाली समाजमा असारमा एकपटक हिलोमा पस्नैपर्ने सांस्कृतिक मान्यता पनि प्रचलित छ।

    २०६२ सालदेखि राष्ट्रिय धान दिवस

    सरकारले २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ देखि औपचारिक रूपमा राष्ट्रिय धान दिवस मनाउन थालेको हो। कृषिप्रधान मुलुक नेपालमा धान प्रमुख खाद्यान्न बाली भएकाले यस दिवसले कृषि उत्पादन वृद्धि, किसानको सम्मान र आधुनिक खेती प्रवर्द्धन गर्ने उद्देश्य बोकेको छ।

    यस वर्ष रोपाइँमा चुनौती

    यद्यपि यस वर्ष असारको मध्यसम्म पनि देशका धेरै क्षेत्रमा पर्याप्त वर्षा हुन नसक्दा अपेक्षाअनुसार धान रोपाइँ हुन सकेको छैन। कतिपय किसानले रासायनिक मल अभावको गुनासो गरिरहेका छन्। यद्यपि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आवश्यक मात्रामा रासायनिक मल मौज्दात रहेको र वितरण प्रक्रिया जारी रहेको जनाएको छ।

    मनसुन अब देशभर फैलिने क्रममा रहेकाले आगामी केही दिनमा वर्षा बढेसँगै धान रोपाइँले थप गति लिने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend