२०८३, आश्विन ७ गते

समय लोड हुँदैछ...

कपिलवस्तुमा धनगढी–काठमाडौं बस दुर्घटना, २२ जना घाइते

कपिलवस्तुमा धनगढी–काठमाडौं बस दुर्घटना, २२ जना घाइते

मंगलवार, आषाढ १६ २०८३
मंगलवार, आषाढ १६ २०८३
  • काठमाडौं- कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा मंगलबार बिहान धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।

    सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको बस शिवपुरी लक्जरी कोच प्रालिद्वारा सञ्चालन हुँदै आएको थियो। प्रहरीका अनुसार तीव्र गतिमा रहेको बस आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएपछि पल्टिएको हो।

    दुर्घटनामा बस चालक कैलालीको धनगढी उपमहानगरपालिका–१३ गेटा निवासी ४२ वर्षीय हरीसिंह महरा समेत घाइते भएका छन्। उनको उपचार भइरहेको छ भने थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ।

    दुर्घटनामा बैतडी, डोटी, कैलाली, डडेलधुरा, बझाङ, दार्चुला र चितवनका यात्रुहरू घाइते भएका छन्। घाइतेमध्ये केहीको टाउको, छाती, कम्मर, हात र खुट्टालगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।

    सबै घाइतेलाई प्रारम्भिक उपचारका लागि जिल्ला अस्पताल तौलिहवामा लगिएको थियो। त्यहाँबाट अवस्था गम्भीर रहेका घाइतेहरूलाई थप उपचारका लागि मेडिकल कलेज भैरहवा रिफर गरिएको छ।

    बसमा चालकसहित ४६ जना सवार रहेका थिए। दुर्घटनामा २२ जना घाइते भए पनि अन्य २४ जना यात्रु सामान्य अवस्थामा रहेको र उनीहरूलाई अर्को सवारीमार्फत गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ।

    दुर्घटनापछि क्रेनको सहायताले बस हटाइएपछि हुलाकी सडकमा दुवैतर्फको यातायात सञ्चालनमा आएको छ।

    प्रारम्भिक अनुसन्धानमा के खुल्यो?

    प्रहरीका अनुसार विपरीत दिशाबाट आएको ट्रकलाई जोगाउने प्रयासका क्रममा तीव्र गतिमा रहेको बस डिभाइडरमा ठोक्किएपछि अनियन्त्रित भई पल्टिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend