२०८३, आश्विन ७ गते

समय लोड हुँदैछ...

बागमतीका पाँच जिल्लामा बर्ड फ्लूको महामारी

२ लाखभन्दा बढी कुखुरा नष्ट

२ लाखभन्दा बढी कुखुरा नष्ट

काठमाडौँ उपत्यकासहित चितवन र काभ्रेमा संक्रमण तीव्र, पाँच लाख अण्डा र ८८ हजार केजी दाना पनि नष्ट

मंगलवार, आषाढ १६ २०८३
मंगलवार, आषाढ १६ २०८३
  • काठमाडौं - बागमती प्रदेशका पाँच जिल्लामा बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा) संक्रमण तीव्र रूपमा फैलिएको छ। देशभर महामारीका रूपमा देखिएको संक्रमण बागमतीका काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन र काभ्रे जिल्लामा पुष्टि भएको हो।

    प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका अनुसार गत चैत ११ गतेदेखि हालसम्म संक्रमण नियन्त्रणका लागि २ लाख ८ हजार २५२ वटा कुखुरा तथा अन्य पन्छी नष्ट गरिएको छ। यस अवधिमा ५ लाख ५ वटा अण्डा र ८८ हजार ६ सय केजी पशुदाना पनि नष्ट गरिएको निर्देशनालयले जनाएको छ।

    निर्देशनालयका वरिष्ठ पशु विकास अधिकृत डा. सन्तोष घिमिरेका अनुसार सबैभन्दा बढी प्रभावित जिल्लामध्ये चितवनमा खैरहनी नगरपालिका–१ स्थित फार्मबाट ३८ हजार २ सय कुखुरा, २ लाख ९५ हजार ५० वटा अण्डा तथा १२ हजार केजी दाना नष्ट गरिएको छ।

    यस्तै, भरतपुर महानगरपालिका–४ मा रहेको अर्को फार्मबाट १८ हजार ८६३ कुखुरा, ५५ हजार ४४० अण्डा र १३ हजार ५० केजी दाना नष्ट गरिएको उनले जानकारी दिए।

    काभ्रेमा पनि संक्रमण दुई स्थानीय तहमा फैलिएको छ। बनेपा नगरपालिका–६ मा ५ हजार २१ कुखुरा र १ हजार ५ सय अण्डा नष्ट गरिएको छ भने बनेपा–१३ मा १ हजार ४५७ कुखुरा, २ हजार ८ सय अण्डा र १ हजार २५० केजी दाना नष्ट गरिएको छ।

    पनौती नगरपालिका–९ मा रहेको फार्मबाट ९ हजार ३९१ कुखुरा, ५ सय अण्डा र ५ सय केजी दाना नष्ट गरिएको छ भने पनौती–७ मा २७९ कुखुरा, १६ अण्डा र ५० केजी दाना नष्ट गरिएको निर्देशनालयले जनाएको छ।

    काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरमा मात्रै १ लाख ३५ हजार ४१ कुखुरा, १ लाख ४४ हजार ७४४ अण्डा तथा ६१ हजार ७५० केजी दाना नष्ट गरिएको तथ्यांक निर्देशनालयसँग रहेको छ।

    डा. घिमिरेका अनुसार बागमती प्रदेशका अन्य जिल्लामा हालसम्म संक्रमण पुष्टि नभए पनि संक्रमित पाँच जिल्लामा अवस्था चुनौतीपूर्ण बन्दै गएको छ। हरेक दिन फरक–फरक पोल्ट्री फार्ममा संक्रमण पुष्टि भइरहेकाले नियन्त्रण प्रयासलाई थप तीव्र बनाइएको उनले बताए।

    संक्रमण फैलिन नदिन निर्देशनालय, प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय तथा सम्बन्धित जिल्लाका पशु सेवा कार्यालयले संक्रमित फार्मका सबै पन्छी नष्ट गर्ने, क्षतिको विवरण संकलन गर्ने, प्रभावित क्षेत्रलाई सिल गरी जैविक सुरक्षा (बायोसेक्युरिटी) कडाइका साथ लागू गर्ने तथा संक्रमण थप फैलिन नदिन निगरानी बढाउने काम गरिरहेका छन्।

    विशेषज्ञहरूले पोल्ट्री व्यवसायीलाई फार्ममा बाह्य व्यक्तिको प्रवेश नियन्त्रण गर्न, नियमित रूपमा कीटाणुनाशक प्रयोग गर्न, बिरामी वा अस्वाभाविक रूपमा मरेका पन्छीको तत्काल जानकारी सम्बन्धित निकायलाई दिन तथा जैविक सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend