२०८३, आश्विन ७ गते

समय लोड हुँदैछ...

जावलाखेल चिडियाखानामा बर्डफ्लु नियन्त्रणउन्मुख

जावलाखेल चिडियाखानामा बर्डफ्लु नियन्त्रणउन्मुख

मंगलवार, आषाढ १६ २०८३
मंगलवार, आषाढ १६ २०८३
  • ललितपुर- ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा गत असार ५ गते पुष्टि भएको बर्डफ्लु संक्रमण अहिले नियन्त्रणउन्मुख रहेको चिडियाखाना प्रशासनले जनाएको छ।

    संक्रमण पुष्टि भएपछि चिडियाखाना तत्काल बन्द गर्दै प्रभावित क्षेत्रलाई सुरक्षित बनाउने, संक्रमित तथा बिरामी जीवजन्तुको उपचार गर्ने र भाइरसको फैलावट रोक्न विभिन्न नियन्त्रणात्मक उपाय लागू गरिएको थियो।

    चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार बर्डफ्लु नियन्त्रणका लागि नियमित रूपमा औषधि छर्किने, जीवजन्तु राखिएका स्थानको सरसफाइ गर्ने तथा बिरामी जनावरको उपचारलाई उच्च प्राथमिकता दिइएको छ।

    उनले पछिल्लो परीक्षणका आधारमा असार १२ गतेयता चिडियाखानाभित्र बर्डफ्लुको कुनै नयाँ संक्रमण नदेखिएको जानकारी दिए।

    संक्रमणको समग्र अवस्था मूल्यांकन गर्न चिडियाखानाले बर्डफ्लु नियन्त्रण अध्ययन समिति पनि गठन गरेको छ। समितिले केही दिनभित्र विस्तृत प्रतिवेदन बुझाउने तयारी गरिरहेको छ। सो प्रतिवेदन र विज्ञहरूको सुझावका आधारमा हाल बन्द रहेको चिडियाखाना सर्वसाधारणका लागि कहिलेदेखि पुनः सञ्चालन गर्ने भन्ने निर्णय गरिने कोइरालाले बताए।

    यद्यपि, पशु सेवा विभागले भने काठमाडौं उपत्यकामा बर्डफ्लुको जोखिम अझै कायम रहेको जनाएको छ। विभागका अनुसार उपत्यकाका विभिन्न क्षेत्रमा संक्रमण फैलिरहेकाले उच्च सतर्कता अपनाउनुपर्ने अवस्था रहेको छ।

    चिडियाखाना प्रशासनले जीवजन्तुको सुरक्षा र सर्वसाधारणको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर आवश्यक सबै सावधानी अपनाइरहेको जनाएको छ। प्रशासनका अनुसार संक्रमण नियन्त्रणको अवस्था सकारात्मक देखिए पनि अध्ययन समितिको प्रतिवेदन र विज्ञहरूको सिफारिसपछि मात्र चिडियाखाना पुनः सञ्चालनबारे अन्तिम निर्णय गरिनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend