२०८३, आश्विन ७ गते

समय लोड हुँदैछ...

पोखराका अग्रज पत्रकार केशवराज पराजुलीको निधन

पोखराका अग्रज पत्रकार केशवराज पराजुलीको निधन

बुधवार, आषाढ १७ २०८३
बुधवार, आषाढ १७ २०८३
  • पोखरा– पोखराका वरिष्ठ पत्रकार, समाजसेवी तथा जनमत दैनिकका संस्थापक सम्पादक केशवराज पराजुलीको निधन भएको छ। करिब ९२ वर्षीय पराजुलीको मंगलबार मध्यराति १२ बजे पोखरा–३, नदीपुरस्थित आफ्नै निवासमा निधन भएको परिवारले जनाएको छ।

    उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि बुधबार बिहान सेती नदी किनारस्थित तुलसीघाट लगिएको छ। त्यहीँ अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।

    स्वर्गीय पराजुलीका एक छोरा लोकरञ्जन (रमेश) पराजुली तथा चार छोरी छन्।

    पोखराको पत्रकारिता क्षेत्रमा लामो समय सक्रिय रहेका पराजुली निष्पक्ष, अध्ययनशील र खोजमूलक पत्रकारका रूपमा परिचित थिए। उनी जनमत दैनिकका संस्थापक सम्पादक मात्र नभई विभिन्न राष्ट्रिय तथा स्थानीय पत्रपत्रिकामा समसामयिक, ऐतिहासिक र अनुसन्धानमूलक लेख तथा पुस्तक प्रकाशनमार्फत बौद्धिक योगदान पुर्‍याएका व्यक्तित्व थिए।

    पत्रकारितासँगै उनले लामो समय शिक्षण पेसामा पनि सेवा गरेका थिए। नेपाली कांग्रेसको राजनीतिमा समेत सक्रिय भूमिका निर्वाह गरेका पराजुली समाजसेवा र बौद्धिक क्षेत्रका सम्मानित व्यक्तित्वका रूपमा परिचित थिए।

    उनी पोखराको सामाजिक, सांस्कृतिक र बौद्धिक जीवनमा विशिष्ट योगदान पुर्‍याएबापत प्रदान गरिने पोखरेली नवरत्न’ सम्मानबाट समेत सम्मानित भएका थिए।

    उनको निधनसँगै पोखराको सञ्चार क्षेत्रले एक अनुभवी, निष्ठावान् र प्रेरणादायी पत्रकार गुमाएको छ। नेपाल पत्रकार महासंघ, सञ्चारकर्मी, विभिन्न सामाजिक संघ–संस्था, राजनीतिक व्यक्तित्व तथा शुभेच्छुकहरूले उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

    सामाजिक सञ्जालमा पनि स्वर्गीय पराजुलीप्रति श्रद्धाञ्जली व्यक्त गर्ने क्रम जारी छ। पत्रकारिता, शिक्षा, समाजसेवा र बौद्धिक क्षेत्रमा उनले पुर्‍याएको योगदान सधैं स्मरणीय रहने सहकर्मीहरूले बताएका छन्।

    keshabraj.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend