२०८३, आश्विन ७ गते

समय लोड हुँदैछ...

पहिले श्रीमतीको हत्या गर, अनि सँगै बसौँला' भन्ने प्रेमिका पनि जेल, श्रीमतीको हत्या गर्ने पति पनि पुर्पक्षमा

पहिले श्रीमतीको हत्या गर, अनि सँगै बसौँला' भन्ने प्रेमिका पनि जेल, श्रीमतीको हत्या गर्ने पति पनि पुर्पक्षमा

शुक्रवार, आषाढ १९ २०८३
शुक्रवार, आषाढ १९ २०८३
  • काठमाडौं– जुम्लाकी प्रतीक्षा आचार्य र नुवाकोटका कुमार थापा मगर (नेपाली ब्रो) बीचको प्रेम सम्बन्ध अन्ततः हत्या मुद्दासम्म पुगेर दुवैलाई जेल पुर्‍याएको छ।

    प्रतीक्षाले कुमारलाई ‘पहिले श्रीमतीको हत्या गर, अनि विवाह गरेर सँगै बसौँला’ भनेको अभियोग छ। त्यसको केही समयपछि जेठ २२ गते राति कुमारले आफ्नी श्रीमती ईश्वरी भुजेलमाथि चक्कु प्रहार गरी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

    हत्यापछि उनीहरू सँगै जीवन बिताउने योजनामा सफल भएनन्। बरु जिल्ला अदालत काठमाडौंले बिहीबार थुनछेक बहसपछि कुमार र प्रतीक्षा दुवैलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। उनीहरूलाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिएको छ।

    यही घटनामा प्रतिवादी बनाइएका कुमारका भाइ विक्रम थापा मगर र पुजन थापा क्षेत्री भने जनही एक लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्।

    प्रेम सम्बन्धदेखि हत्या योजनासम्म

    घटनाको अनुसन्धानका क्रममा प्रहरीले कुमार र प्रतीक्षाबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको निष्कर्ष निकालेको थियो। अदालतमा दुवैले पनि एकअर्कासँग प्रेम सम्बन्ध रहेको स्वीकार गरेका छन्।

    ईश्वरीले भने यसअघि पटक–पटक उनीहरूलाई छुटाउन प्रहरीमा उजुरी दिएकी थिइन्। प्रहरीले छलफल गराई मिलापत्र गराए पनि कुमार र प्रतीक्षाबीचको सम्बन्ध टुटेन।

    यसैबीच कुमार र ईश्वरीबीच सम्बन्धविच्छेद तथा वैवाहिक बलात्कारसम्बन्धी मुद्दा अदालतमा चलिरहेको थियो। ईश्वरीले सम्बन्धविच्छेद चाहेको भए पनि कुमारले अस्वीकार गरेका थिए। अदालतमा तारेख बुझेर फर्किएकै दिन उनले ईश्वरीको हत्या गरेका थिए।

    छोराको बयानले खोल्यो घटनाको पृष्ठभूमि

    अनुसन्धानका क्रममा दम्पतीका जेठा छोरा जेनिश थापाको बयानले घटनाको पृष्ठभूमि थप स्पष्ट पारेको छ।

    उनका अनुसार, करिब एक वर्षअघि आमाले बुबा र प्रतीक्षाबीचको प्रेम सम्बन्धबारे थाहा पाएकी थिइन्। कुमार र प्रतीक्षा घुम्न गएका तस्बिर तथा भिडियो मोबाइलमार्फत फेला परेपछि परिवारले कुमारलाई धेरै पटक सम्झाएको थियो। ईश्वरीले प्रहरीमा उजुरीसमेत दिएकी थिइन्।

    जेनिशले प्रहरीसमक्ष दिएको बयानमा आफूले बुबाको फेसबुक र म्यासेन्जर चलाउने क्रममा कुमारले आफ्ना भाइ विक्रमलाई प्रतीक्षासँग डिस्कोमा नाचेको फोटो र भिडियो पठाएको देखेको र ती सामग्री आमालाई पठाएको बताएका छन्।

    उनले बयानमा थप उल्लेख गरेका छन्, "करिब सात–आठ महिनाअघि बुबा कुमारले प्रतीक्षासँग फोनमा कुरा गर्दा प्रतीक्षाले 'पहिले श्रीमतीलाई मार, अनि मात्रै म तिम्रो घरमा भित्रिन्छु' भनेको सुनेको थिएँ।"

    अनुसन्धानमा विक्रम थापा मगरले पनि कुमारलाई "श्रीमतीलाई तह लगाऊ, पैसा चाहियो भने म खर्च गर्छु" भन्दै उक्साएको आरोप लागेको छ।

    पटक–पटक हिंसा र धम्की

    प्रहरी अनुसन्धानअनुसार कुमारले पटक–पटक ईश्वरीमाथि कुटपिट गरेका थिए। उनले प्रतीक्षासँगका भिडियो टिकटकमा समेत सार्वजनिक गरेका थिए।

    ईश्वरीले वैवाहिक बलात्कारको आरोपमा प्रहरी वृत्त बालाजुमा जाहेरी दिएपछि कुमार पक्राउ परेका थिए। पछि अदालतबाट धरौटीमा छुटेका उनले केही सातापछि पुनः परिवारलाई आक्रमण गर्ने प्रयास गरेको जेनिशले बयान दिएका छन्।

    जेनिशका अनुसार, कुमारले एकपटक ग्यास सिलिन्डर पड्काएर परिवारलाई मार्ने प्रयाससमेत गरेका थिए। त्यसबेला छिमेकी र आफन्तले सम्झाइबुझाइ गरेपछि घटना थप अघि बढेन।

    पछि प्रहरी कार्यालयमा भएको छलफलपछि कुमार भुइँतलामा र ईश्वरी दुई छोरासहित माथिल्लो तलामा बस्ने सहमति भएको थियो। छुट्टिएर बसे पनि कुमारले निरन्तर काट्ने–मार्ने धम्की दिँदै अदालतका मुद्दा फिर्ता लिन दबाब दिने गरेका थिए।

    घटनाको दिन के भयो?

    जेठ २२ गते बिहान ईश्वरी र छोरा जेनिश अदालतमा तारेख बुझ्न गएका थिए। त्यही दिन अर्को तारेख लिएर फर्किएका उनीहरूले अदालत परिसरमै कुमारलाई गाडीमा निस्कँदै गरेको देखेका थिए।

    राति करिब ८ बजे कुमार घर पुगेर कान्छा छोरालाई लैजान खोजेका थिए। यो थाहा पाएपछि जेनिशले फोनमार्फत विरोध गरेका थिए। त्यसपछि उनले आमालाई पनि घटनाबारे जानकारी गराएका थिए।

    ईश्वरीले आफू पार्टीमा रहेको र छिट्टै घर आउने बताएकी थिइन्। तर लामो समयसम्म घर नपुगेपछि जेनिशले खोजी थाले।

    केहीबेरपछि एक अपरिचित व्यक्तिले ईश्वरीको मोबाइल उठाएर पैयुटारस्थित सडकमा उनी रगताम्य अवस्थामा लडिरहेको जानकारी दिएका थिए। अस्पताल लैजाने क्रममा ईश्वरीको मृत्यु भएको थियो।

    सीसीटीभीबाट पुष्टि

    आमाको हत्या बुबाले नै गरेको आशंकामा जेनिशले कुमारलाई फोन गरी सोध्दा उनले मोबाइल बन्द गरेका थिए।

    पछि घटनास्थल आसपासका सीसीटीभी फुटेजबाट कुमारले नै ईश्वरीको हत्या गरेको पुष्टि भएको प्रहरीले जनाएको छ। घटनाकै राति पक्राउ परेका कुमारले बयानका क्रममा हत्या स्वीकार गरेका छन्।

    उनले प्रतीक्षासँगको सम्बन्ध, श्रीमतीसँगको विवाद र अदालतका मुद्दा फिर्ता लिन ईश्वरीले नमानेको कारण हत्या गरेको बताएका छन्। प्रतीक्षाले पनि उनीहरूबीचको सम्बन्ध स्वीकार गरेकी छन्।

    श्रीमतीको हत्या गरेर सँगै बस्ने योजना बनाएको आरोप लागेका कुमार र प्रतीक्षा अहिले पुर्पक्षका लागि जेल चलान भएका छन्। अब माथिल्लो अदालतबाट आदेश नबदलिएसम्म उनीहरू मुद्दाको अन्तिम फैसला नआएसम्म थुनामै रहनेछन्।

     
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend