काठमाडौं -मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेर पानी अत्यधिक धमिलो भएपछि काठमाडौं उपत्यकामा भइरहेको मेलम्चीको पानी आपूर्ति आज (असार १९)देखि अस्थायी रूपमा बन्द गरिएको छ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रवक्ता वीरबहादुर चन्दका अनुसार, मुहानमा आएको बाढीका कारण पानीको गुणस्तर प्रभावित भएकाले प्रशोधन प्रक्रिया सञ्चालन गर्न नसकिएको हो। त्यसैले मेलम्चीबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आउने पानीको प्रवाह रोकिएको उनले बताए।
"वर्षाका कारण मुहानको पानी अत्यधिक धमिलो भएको छ। पानीको गुणस्तर सुधार भएपछि पुनः प्रशोधन प्रक्रिया सञ्चालन गरी पूर्वनिर्धारित वितरण तालिकाअनुसार आपूर्ति सुरु गरिनेछ," प्रवक्ता चन्दले भने।
केयूकेएलले निरन्तर वर्षा भइरहेमा पानीको गुणस्तर सामान्य हुन समय लाग्न सक्ने जनाएको छ। त्यसैले काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी आपूर्ति पुनः सञ्चालन हुन केही समय लाग्ने सम्भावना रहेको छ।