डोल्पा — डोल्पाको जगदुल्ला गाउँपालिकामा गएराति आएको लेदोसहितको बाढी गाउँमा पस्दा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार आइतबार बिहान करिब ३ बजे निरन्तर वर्षापछि धुलाखोला तथा आसपासका खोल्सामा आएको लेदोसहितको बाढी जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा पसेको थियो। बाढीले बगाउँदा ५६ वर्षीया आनन्दी विक गम्भीर घाइते भएकी थिइन्। उद्धारपछि उपचारका लागि स्वास्थ्य चौकी लैजाँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
बाढीमा परी स्थानीय चाउरी विक (५०), रेउली विक (४४), विष्णु विक (४८), निरुता विक (१५), सीता विक (१३) र जस विक (६५) घाइते भएका छन्। उनीहरूको जगदुल्लास्थित झ्याकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।
घाइतेमध्ये रेउली विकको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि जुम्ला रिफर गरिएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त भएपछि प्रहरी चौकी माझगाउँबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा खटिएको टोलीले स्थानीयवासीको सहयोगमा घाइतेहरूको उद्धार गरेको थियो। साथै, जिल्ला प्रहरी कार्यालय डोल्पाबाट प्रहरी निरीक्षकको कमान्डमा थप पाँच जना प्रहरी, नेपाली सेनाका १० जना र सशस्त्र प्रहरी बलका ११ जना सुरक्षाकर्मी बिहानै घटनास्थलतर्फ परिचालन गरिएको छ।
डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन, थप उद्धार तथा राहत कार्यका लागि जिल्ला प्रशासन कार्यालयले आवश्यक समन्वय र पहल गरिरहेको जानकारी दिएकी छन्।
