काठमाडौं-हर्मुज स्ट्रेटमा तीनवटा व्यावसायिक जहाजमाथि भएको आक्रमणको जवाफस्वरूप अमेरिकाले बुधबार बिहान इरानका विभिन्न क्षेत्रमा व्यापक हवाई हमला गरेको जनाएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार आक्रमणमा धेरै व्यक्ति घाइते भएका छन्। यद्यपि अहिलेसम्म कुनै मानवीय क्षतिको आधिकारिक पुष्टि भएको छैन।
अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम)ले जारी गरेको विज्ञप्तिमा अन्तर्राष्ट्रिय जलमार्गमा निर्दोष चालकदलसहितका व्यावसायिक जहाजमाथि भएका आक्रमण रोक्न यो सैन्य कारबाही गरिएको उल्लेख गरिएको छ।
सेन्टकमका अनुसार अमेरिकी सेनाले इरानको पछिल्लो आक्रमणको प्रतिक्रियास्वरूप ८० भन्दा बढी सैन्य लक्ष्यमा हवाई प्रहार गरेको हो।
यता, इरानका उपविदेशमन्त्री काजिम घरिबाबादीले अमेरिकी आक्रमणलाई गत महिना अमेरिका र इरानबीच भएको शान्ति सम्झौताको उल्लंघन भएको बताएका छन्। उनले यस कदमविरुद्ध इरानले पनि 'निर्णायक कारबाही' गर्ने चेतावनी दिएका छन्।
इरानको सरकारी सञ्चारमाध्यमका अनुसार अमेरिकी हवाई आक्रमण केसम टापु, बन्दर अब्बास र सिरिक क्षेत्रमा केन्द्रित थियो।
यसअघि अमेरिकाले हर्मुज स्ट्रेटमा तेल ट्यांकर तथा व्यावसायिक जहाजमाथि आक्रमण भए त्यसको जिम्मेवारी इरानले वहन गर्नुपर्ने चेतावनी दिएको थियो। मंगलबार राति जारी गरिएको सेन्टकमको विज्ञप्तिमा पनि वर्तमान सैन्य कारबाही इरानको आक्रमणको प्रतिउत्तर भएको उल्लेख गरिएको छ।
यस घटनापछि मध्यपूर्वमा तनाव थप चुलिएको छ भने अन्तर्राष्ट्रिय समुदायले अवस्था थप जटिल नबनाउन दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरिरहेका छन्।