काठमाडौं - सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत बैठकका निर्णय सार्वजनिक गरेका हुन्।
बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्का प्रमुख निर्णयहरू:
- काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा काठमाडौंका सुरज शाक्यलाई नियुक्त गर्ने।
- कैलालीस्थित गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने।
- ‘विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली, २०८३’ स्वीकृत गर्ने।
- ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली, २०८३’ स्वीकृत गर्ने।
- ‘कारागार नियमावली, २०८३’ स्वीकृत गर्ने।
- मानव अधिकार सम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना स्वीकृत गर्ने।
- भ्रष्टाचारविरुद्धको दोस्रो रणनीतिक योजना स्वीकृत गर्ने।
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्यसचिव पदमा नियुक्त गर्ने।
सरकारले शिक्षा, स्वास्थ्य, सुशासन, मानव अधिकार तथा प्रशासनिक नेतृत्वसँग सम्बन्धित विभिन्न नीतिगत निर्णयहरू एकै बैठकबाट अघि बढाएको जनाएको छ।