काठमाडौं- सरकारले विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त गरेको छ। छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले उपकुलपतिहरू नियुक्त गरेका हुन्।
नियुक्त हुनेहरूमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपतिमा डा. विवेक आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. नविसमान सिंह प्रधान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. स्मृति कार्की, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. नारायणसिंह गुरुङ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. सूर्यमान म्याहाङम्बो तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. अजयकुमार मिश्र रहेका छन्।
नवनियुक्त उपकुलपति डा. विवेक आचार्य वरिष्ठ क्यान्सर रोग विशेषज्ञ हुन्। उनी यसअघि न्याम्सको क्यान्सर विभाग प्रमुखका रूपमा कार्यरत थिए।
उपकुलपति नियुक्तिका लागि सरकारले छनोट तथा सिफारिस समिति गठन गरेको थियो। समितिले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३’ अनुसार प्रक्रिया अघि बढाएको थियो।
समितिले जेठ ४ गते आवेदन आह्वान गर्दा उपकुलपति पदका लागि ११३ जनाले आवेदन दिएका थिए। आवेदनको मूल्यांकनपछि प्रत्येक प्रतिष्ठानका लागि ७ जनाका दरले कुल ४२ जनालाई अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि प्रारम्भिक सूचीमा समावेश गरिएको थियो। सोही प्रक्रियाबाट अन्तिम रूपमा ६ जनालाई उपकुलपतिमा नियुक्त गरिएको हो।