दमौली (तनहुँ) - नेपाली भाषा र साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मथलो तनहुँको चुँदीरम्घा प्रत्येक वर्ष असार महिनामा मात्रै चर्चामा आउने गरेको छ। असार २९ गते मनाइने भानुजयन्तीका अवसरमा हजारौँ साहित्यप्रेमी, विद्यार्थी, राजनीतिक नेतृत्व र विभिन्न क्षेत्रका व्यक्तिहरूको भीड लाग्ने यो ऐतिहासिक स्थल कार्यक्रम सकिएलगत्तै फेरि सुनसान बन्ने गरेको स्थानीयवासीको गुनासो छ।
असार लागेसँगै चुँदीरम्घामा सरसफाइ, रङरोगन तथा विभिन्न साहित्यिक र सांस्कृतिक कार्यक्रमको तयारी सुरु हुन्छ। जन्मजयन्तीको अवसरमा कविता वाचन, साहित्यिक गोष्ठी, सांस्कृतिक प्रस्तुति तथा श्रद्धाञ्जली कार्यक्रमले केही दिनका लागि जन्मथलो जीवन्त देखिए पनि वर्षभरि नियमित गतिविधि नहुँदा यसको ऐतिहासिक र पर्यटकीय महत्व ओझेलमा पर्ने गरेको स्थानीय बताउँछन्।
‘कार्यक्रम सकिएपछि सबै हराउँछन्’
भानु नगरपालिका–४ निवासी सन्देश आचार्यका अनुसार भानुभक्तको नाममा देशभर सम्मान र चर्चा हुने गरे पनि उनको जन्मथलोले अझै अपेक्षित प्राथमिकता पाउन सकेको छैन।
उनले भने, “भानुजयन्तीका बेला सबै आउँछन्, भाषण गर्छन्, ठूला योजना सुनाउँछन्। तर कार्यक्रम सकिएपछि फेरि सबै हराउँछन्। जन्मथलो वर्षभरि सुनसान हुन्छ। नियमित साहित्यिक तथा पर्यटकीय गतिविधि नहुँदा यहाँको सम्भावना उपयोग हुन सकेको छैन।”
स्थानीयका अनुसार यदि वर्षभरि साहित्यिक कार्यक्रम, अध्ययन–अनुसन्धान, पुस्तक प्रदर्शनी तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्न सकिए चुँदीरम्घा राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय साहित्यिक गन्तव्य बन्न सक्ने सम्भावना छ।
अन्तर्राष्ट्रिय साहित्यिक उद्यान बनाउने तयारी
भानु नगरपालिकाले भने चुँदीरम्घाको दीर्घकालीन विकासका लागि महत्वाकांक्षी योजना अघि बढाएको जनाएको छ।
नगर प्रमुख आनन्दराज त्रिपाठीका अनुसार चुँदीरम्घालाई अन्तर्राष्ट्रियस्तरको साहित्यिक उद्यान तथा साहित्यिक पर्यटन केन्द्रका रूपमा विकास गर्ने गुरुयोजना कार्यान्वयनको चरणमा पुगेको छ। यसका लागि संघीय सरकारले आगामी आर्थिक वर्षका लागि २४ करोड रुपैयाँभन्दा बढी बजेट सुनिश्चित गरिसकेको उनले जानकारी दिए।
उनका अनुसार अब चुँदीरम्घालाई केवल स्मारक स्थलका रूपमा मात्र होइन, साहित्य, संस्कृति, अनुसन्धान र पर्यटनलाई एकैसाथ जोड्ने बहुआयामिक केन्द्रका रूपमा विकास गरिनेछ।
"हामी चुँदीरम्घालाई केवल स्मारक स्थलमा सीमित राख्न चाहँदैनौँ। यसलाई साहित्यिक पर्यटनको केन्द्र र सप्तधामका रूपमा विकास गर्ने लक्ष्य राखेका छौँ। बजेट सुनिश्चित भइसकेकाले अब निर्माण कार्यले तीव्रता पाउनेछ," नगर प्रमुख त्रिपाठीले बताए।
४३५ रोपनी क्षेत्रफलमा बन्नेछन् नयाँ संरचना
गुरुयोजनाअनुसार नगरपालिकाले ४३५ रोपनी जग्गा अधिग्रहण गरिसकेको छ। यही क्षेत्रमा आधुनिक सुविधासहित बहुआयामिक साहित्यिक संरचनाहरू निर्माण गरिनेछन्।
योजनाअनुसार चुँदीरम्घाको उत्तरतर्फ रहेको रम्घाडाँडामा परम्परागत गोलघर शैलीमा भानु भवन निर्माण गरिनेछ। उक्त भवनमा आदिकवि भानुभक्त आचार्यको जीवन, साहित्यिक योगदान, ऐतिहासिक दस्तावेज, हस्तलिखित सामग्री, तस्वीर तथा अभिलेखहरू संग्रहालयको स्वरूपमा प्रदर्शन गरिनेछ।
यसका साथै अध्ययन–अनुसन्धान केन्द्र, साहित्यिक सभाहल, पर्यटकीय विश्रामस्थल, हरियाली उद्यान तथा अन्य पूर्वाधार निर्माण गर्ने योजना रहेको नगरपालिकाले जनाएको छ।
पर्यटनसँगै स्थानीय अर्थतन्त्रमा टेवा पुग्ने अपेक्षा
स्थानीय सरकारका अनुसार सडक, खानेपानी, पार्किङ र अन्य पूर्वाधारको विस्तार भएपछि चुँदीरम्घामा पर्यटकको बसाइ अवधि बढ्ने अपेक्षा गरिएको छ। यसबाट स्थानीय होटल, कृषि उत्पादन, हस्तकला तथा अन्य व्यवसायलाई समेत प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ।
स्थानीयवासीले भने घोषणा भएका योजनाहरू समयमै कार्यान्वयन भई चुँदीरम्घा वर्षभरि साहित्यिक र पर्यटकीय गतिविधिले भरिभराउ बन्ने अपेक्षा गरेका छन्। उनीहरूका अनुसार भानुभक्तको जन्मथलो वर्षमा एक दिन मात्र सम्झिने स्थल नभई नेपाली भाषा, साहित्य र संस्कृतिको जीवित केन्द्रका रूपमा विकास हुन आवश्यक छ।