२०८३, आश्विन ७ गते

समय लोड हुँदैछ...

अविरल वर्षाले ६ मुख्य राजमार्ग अवरुद्ध, देशभर भारी वर्षाको चेतावनी

अविरल वर्षाले ६ मुख्य राजमार्ग अवरुद्ध, देशभर भारी वर्षाको चेतावनी

शनिवार, श्रावण २ २०८३
शनिवार, श्रावण २ २०८३
  • काठमाडौं- अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण देशका विभिन्न क्षेत्रमा रहेका ६ वटा प्रमुख राजमार्ग अवरुद्ध भएका छन्। पहिरो खस्दा सडक यातायात प्रभावित भएको छ भने यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ।

    नेपाल प्रहरीका अनुसार खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक, कान्ति लोकपथ, मेची राजमार्ग, सालझण्डी–ढोरपाटन सडक, अरनिको राजमार्ग तथा कालीगण्डकी करिडोर पहिरोका कारण पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएका हुन्।

    विशेषगरी सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो क्षेत्रमा ठूलो पहिरो खस्दा अरनिको राजमार्गको आवागमन पूर्ण रूपमा ठप्प भएको नेपाल प्रहरीले जनाएको छ। त्यस्तै, बागलुङको जैमिनी नगरपालिका–८ बेलबगर मा पहिरो खस्दा कालीगण्डकी करिडोर पूर्ण रूपमा बन्द भएको छ।

    प्रहरी तथा सम्बन्धित निकायले अवरुद्ध सडक खुलाउने प्रयास जारी राखेको जनाएका छन्। तर निरन्तर वर्षा भइरहेकाले उद्धार तथा सडक सञ्चालन कार्यमा कठिनाइ भइरहेको छ।

    यसैबीच, जल तथा मौसम विज्ञान विभाग ले आज र भोलि देशका विभिन्न भूभागमा मुसलधारे वर्षा हुने सम्भावना रहेको जनाएको छ। विभागले नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने, बाढी, पहिरो र डुबानको जोखिम उच्च रहने भएकाले सर्वसाधारणलाई सतर्क रहन र आवश्यक बाहेक लामो दूरीको यात्रा नगर्न आग्रह गरेको छ।

    प्रशासनले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई स्थानीय निकाय र सुरक्षा निकायको सूचनाको पालना गर्न तथा आपत्कालीन अवस्था आएमा तत्काल सम्बन्धित निकायमा सम्पर्क गर्न अनुरोध गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend