२०८३, आश्विन ७ गते

समय लोड हुँदैछ...

भारी वर्षापछि खोटाङमा दुई जनाको मृत्यु, पूर्वी पहाडका सडक अवरुद्ध

भारी वर्षापछि खोटाङमा दुई जनाको मृत्यु, पूर्वी पहाडका सडक अवरुद्ध

आइतवार, श्रावण ३ २०८३
आइतवार, श्रावण ३ २०८३
  • काठमाडौं- लगातारको भारी वर्षापछि आएको बाढी र खोलामा आएको बहावका कारण खोटाङमा दुई जनाको ज्यान गएको छ। वर्षाका कारण पूर्वी पहाडी जिल्लाका मुख्य तथा सहायक सडकहरू समेत अवरुद्ध भएका छन्।

    खोटाङको दिक्तेल मझुवागढी नगरपालिका–३ नेर्पाकी अन्दाजी ४३ वर्षीया शान्दा राई र केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका ७१ वर्षीय पर्शुराम परियारको बाढीमा परी मृत्यु भएको हो।

    खोटाङकी प्रमुख जिल्ला अधिकारी रेखा कँडेलका अनुसार आफन्तको घरबाट फर्किने क्रममा छाँगे खोला तर्ने प्रयास गर्दा शान्दा राईलाई खोलाले बगाएको थियो। उनी लामो समयसम्म घर नफर्किएपछि स्थानीयले खोजी अभियान चलाएका थिए। खोजीका क्रममा छाँगे खोलामै उनको शव फेला परेको थियो।

    यस्तै, केपिलासगढी–४ बाक्सिलास्थित गाइखुरे खोल्सीमा आएको बाढीले बगाउँदा ७१ वर्षीय पर्शुराम परियारको मृत्यु भएको हो। बाढीले उनलाई करिब १०० मिटर तलसम्म बगाएको थियो। परिवार र स्थानीयवासीले खोजी गर्दा उनको शव फेला परेको प्रहरीले जनाएको छ।

    लगातारको वर्षाका कारण जिल्लाको यातायात सेवा पनि प्रभावित भएको छ। प्रमुख जिल्ला अधिकारी कँडेलका अनुसार मध्यपहाडी लोकमार्गअन्तर्गत चखेवा–दिक्तेल–जयरामघाट सडकखण्ड सहित जिल्लाका विभिन्न सहायक सडकमा सार्वजनिक सवारीसाधन सञ्चालन रोकिएको छ।

    यता, पूर्वी पहाडी जिल्लाहरूमा पनि वर्षाले व्यापक असर पुर्‍याएको छ। इलामको राजदुवाली क्षेत्रमा पहिरो खसेपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। इलाम, पाँचथर, ताप्लेजुङ, खोटाङ र धनकुटाका विभिन्न मुख्य तथा सहायक सडकहरूमा यातायात प्रभावित भएको छ।

    जिल्ला प्रशासन कार्यालय धनकुटाका अनुसार भेडेटार–रवि–राँके सडकखण्डमा समेत सवारीसाधन सञ्चालन अस्थायी रूपमा रोकिएको छ।

    प्रशासनले आवश्यक कामबाहेक जोखिमपूर्ण सडक र खोला–नदी आसपास यात्रा नगर्न तथा मौसमको अवस्था सामान्य नहुँदासम्म उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend