सप्तरी-लगातारको वर्षापछि कोसी नदीमा पानीको बहाव तीव्र रूपमा बढ्दै २ लाख क्युसेक नाघेको छ। बहाव खतराको तह नजिक पुगेपछि कोसी ब्यारेजमा उच्च सतर्कता अपनाइएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा डीएसपी हेमराज घिमिरेका अनुसार आइतबार बिहान ८ बजे १ लाख ७६ हजार ३०५ क्युसेक पानीको बहाव मापन गरिएको थियो। दिउँसो ३ बजेसम्म यो बढेर १ लाख ९० हजार ३९० क्युसेक पुगेको थियो भने दिउँसो ४ बजे २ लाख ९ हजार ८४० क्युसेक पानीको बहाव रेकर्ड गरिएको छ।
पानीको बहाव निरन्तर बढेपछि कोसी ब्यारेजका ५६ वटा ढोकामध्ये २८ वटा ढोका खोलिएको प्रहरीले जनाएको छ।
बहाव खतराको तह नजिक पुगेकाले कोसी ब्यारेज क्षेत्रमा रातो झण्डा र रातो बत्ती बालेर चेतावनी जारी गरिएको छ। साथै नदी आसपासका बासिन्दा, माछा मार्ने, नदीजन्य सामग्री उत्खनन गर्ने तथा अन्य सर्वसाधारणलाई नदी किनारमा अनावश्यक रूपमा नजान र उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।
प्रशासनले कोसी नदीको बहाव अझ बढ्न सक्ने सम्भावना रहेकाले तटीय क्षेत्रका स्थानीयवासीलाई सुरक्षित स्थानमा बस्न, आधिकारिक सूचनाको पालना गर्न र कुनै पनि आपत्कालीन अवस्थाका लागि तयारी अवस्थामा रहन अनुरोध गरेको छ।