२०८३, आश्विन ७ गते

समय लोड हुँदैछ...

बाढीपहिरोको असर

देशका प्रमुख राजमार्गमा यातायात प्रभावित, पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध

देशका प्रमुख राजमार्गमा यातायात प्रभावित, पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध

आइतवार, श्रावण १० २०८३
आइतवार, श्रावण १० २०८३
  • काठमाडौं- लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण आज बिहान देशका विभिन्न प्रमुख राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले बिहान ६ः३० बजेको अवस्थाअनुसार पाँच प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको जनाएको छ भने केही स्थानमा सडक एकतर्फी सञ्चालन भइरहेको छ।

    प्रहरीका अनुसार मेची राजमार्ग अन्तर्गत झापादेखि ताप्लेजुङ जोड्ने सडकखण्ड, बीपी राजमार्ग को खुर्कोट–नेपालथोक–कटुन्जेबेसी खण्ड, कान्तिलोकपथ को हेटौंडा–ठिंगन–बागमती–ललितपुर सडक, अरनिको राजमार्ग अन्तर्गत तातोपानी जाने सडक तथा कोदारी नाका जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएका छन्। ती क्षेत्रमा पहिरो खस्नु, सडक भत्किनु तथा खोलामा आएको बाढीका कारण यातायात ठप्प भएको हो।

    यता मध्यपहाडी राजमार्ग अन्तर्गत भोजपुरको बोखिम र खोटाङको साखा क्षेत्रमा भने सडक एकतर्फी सञ्चालन भइरहेको छ। पहिरो हटाउने तथा सडक खुलाउने काम जारी रहेकाले आवश्यकताअनुसार केही समय सवारी रोकेर पालैपालो सञ्चालन गराइएको प्रहरीले जनाएको छ।

    सडक डिभिजन कार्यालय, स्थानीय प्रशासन, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोलीहरू अवरुद्ध सडक खुलाउन डोजर तथा आवश्यक उपकरणसहित परिचालित भएका छन्। निरन्तर वर्षा भइरहेकाले पहिरो पुनः झर्ने जोखिम कायम रहेको र सडक खुलाउन समय लाग्न सक्ने सम्बन्धित निकायले बताएका छन्।

    प्रहरीले अत्यावश्यक कामबाहेक जोखिमयुक्त सडकमार्गमा यात्रा नगर्न, यात्रा गर्नैपरे सम्बन्धित जिल्ला प्रशासन कार्यालय, ट्राफिक प्रहरी तथा नेपाल प्रहरीबाट सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ। विशेष गरी नदी किनार, पहाडी भिरालो तथा पहिरोको उच्च जोखिम भएका क्षेत्रमा थप सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ।

    मौसमविद्हरूका अनुसार अझै केही दिन देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो र डुबानको जोखिम यथावत् रहने अनुमान गरिएको छ। त्यसैले यात्रु, चालक तथा स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend