२०८३, श्रावण २२ गते

समय लोड हुँदैछ...

सात वर्षपछि सञ्चालनमा आउँदै नागढुङ्गा सुरुङमार्ग

सात वर्षपछि सञ्चालनमा आउँदै नागढुङ्गा सुरुङमार्ग

सोमवार, श्रावण ११ २०८३
सोमवार, श्रावण ११ २०८३
  • काठमाडौं - सात वर्षअघि निर्माण सुरु गरिएको नेपालको पहिलो सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग अन्ततः सञ्चालनका लागि तयार भएको छ। जापानी प्रविधिमा निर्माण गरिएको यो बहुप्रतीक्षित पूर्वाधारको सोमबार औपचारिक उद्घाटन गरिने भएको छ।

    उद्घाटनपछि सुरुवाती केही समय सुरुङमार्गबाट एम्बुलेन्सलगायत आपत्कालीन सवारी साधन मात्र सञ्चालन गरिनेछ। त्यसपछि आवश्यक परीक्षण र व्यवस्थापन पूरा गर्दै सर्वसाधारणका लागि क्रमशः खुला गरिने सरकारी तयारी छ।

    यात्रा छोटिने, जाम र दुर्घटनाको जोखिम घट्ने

    कुल ५.६७ किलोमिटर लामो परियोजनाअन्तर्गत २ हजार ६८८ मिटर लामो मुख्य सुरुङमार्ग निर्माण गरिएको छ। यो मार्ग गुर्जुधारा फ्लाइओभरदेखि सिस्नेखोलासम्म फैलिएको छ।

    सुरुङमार्ग सञ्चालनमा आएपछि धादिङको नौबिसेदेखि काठमाडौं प्रवेश गर्ने दूरी करिब चार किलोमिटर छोटिनेछ। यसले नागढुङ्गा सडकखण्डमा वर्षौंदेखि हुने लामो ट्राफिक जाम, धुलोधुवाँ, पहिरो तथा दुर्घटनाको जोखिम उल्लेखनीय रूपमा घटाउने अपेक्षा गरिएको छ।

    सुरक्षा प्रणालीलाई दिइएको विशेष प्राथमिकता

    नागढुङ्गा टनेल अपरेसन एन्ड मेन्टिनेन्सकी प्रवक्ता जिज्ञासा अधिकारीका अनुसार सुरुङमार्ग निर्माणमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार अत्याधुनिक सुरक्षा प्रणाली जडान गरिएको छ।

    मुख्य सुरुङसँगै २ हजार ६८८ मिटर लामो छुट्टै उद्धार (इभ्याकुएसन) सुरुङ पनि निर्माण गरिएको छ। मुख्य सुरुङमा दुर्घटना, आगलागी वा अन्य आपत्कालीन अवस्था आएमा यात्रु तथा चालकलाई सुरक्षित रूपमा बाहिर निकाल्न यसले सहयोग गर्नेछ।

    मुख्य सुरुङ र उद्धार सुरुङलाई जोड्ने सात वटा आपत्कालीन निकास ढोका निर्माण गरिएका छन्। ती ढोकाहरू करिब हरेक ३७५ मिटरको दूरीमा राखिएका छन्, जसले आकस्मिक अवस्थामा छिटो उद्धार सम्भव बनाउनेछ।

    आगलागी र धुवाँ नियन्त्रणका अत्याधुनिक उपकरण

    सुरुङमार्गमा आगलागीको जोखिम न्यून गर्न ५५ वटा फायर हाइड्रेन्ट, ६६ वटा फायर डिटेक्टर तथा हरेक ५० मिटरमा आगो नियन्त्रण प्रणाली जडान गरिएको छ।

    कुनै स्थानमा आगलागी भएमा डिटेक्टरले स्वतः ट्राफिक कन्ट्रोल रुममा सूचना पठाउने र तत्काल अलार्म बज्ने व्यवस्था गरिएको छ। त्यस्तै सुरुङभित्र धुवाँ वा प्रदूषणको मात्रा बढेमा जडान गरिएका जेट फ्यान स्वतः सञ्चालन भई धुवाँ बाहिर निकाल्ने प्रणाली राखिएको छ।

    भूकम्पीय जोखिमलाई समेत ध्यान

    नेपाल भूकम्पीय जोखिमयुक्त मुलुक भएकाले सुरुङमार्ग निर्माणमा त्यसलाई पनि विशेष ध्यान दिइएको छ। सुरुङभित्र विशेष प्रकारका लचिलो ड्रेनेज पाइप जडान गरिएका छन्, जसले दबाबका कारण खुम्चिए पनि पुनः आफ्नो पुरानै अवस्थामा फर्किने प्रविधि प्रयोग गर्छ।

    कुन सवारी साधनलाई अनुमति?

    सुरुङमार्गमा कार, जिप, माइक्रोबस, मिनिबस, ट्रक तथा ४.७५ मिटरभन्दा कम उचाइ भएका सवारी साधनलाई मात्र प्रवेश दिइनेछ।

    तर डिजेल, पेट्रोल वा ग्यास बोकेका ट्यांकर (बुलेट) तथा पशुपक्षी बोकेका सवारी साधनलाई सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइने छैन।

    इलेक्ट्रोनिक टोल प्रणाली

    सुरुङमार्ग प्रवेश गर्नुअघि चालकले टोल प्लाजामा अनिवार्य रूपमा शुल्क तिर्नुपर्नेछ। यसका लागि इलेक्ट्रोनिक टोल कलेक्सन (ETC) तथा रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन (RFID) प्रणाली जडान गरिएको छ। कम्प्युटर प्रणालीले सवारी साधनको प्रकार स्वतः पहिचान गरी सोहीअनुसार शुल्क निर्धारण गर्ने व्यवस्था गरिएको छ।

    चालकका लागि विशेष नियम

    प्रवक्ता अधिकारीका अनुसार सुरुङमार्ग प्रवेश गर्दा सबै चालकले हेडलाइट अनिवार्य रूपमा बाल्नुपर्नेछ। सुरुङभित्रको प्रकाश बाहिरी उज्यालोअनुसार स्वतः समायोजन हुने भएकाले एक्कासि प्रकाशको अन्तर महसुस नहुने व्यवस्था गरिएको छ।

    विद्युत् आपूर्ति अवरुद्ध भए पनि आकस्मिक बत्ती निरन्तर बलिरहने र केही समयमै जेनेरेटरमार्फत विद्युत् आपूर्ति पुनः सञ्चालन हुने प्रणाली जडान गरिएको छ।

    ४५ मिनेटको यात्रा अब २० मिनेटमै

    विगतमा नागढुङ्गा सडक हुँदै सिस्नेखोला पुग्न जाम नभएको अवस्थामा पनि करिब ४५ मिनेट लाग्ने गर्थ्यो। तर गुर्जुधारा फ्लाइओभर हुँदै सुरुङमार्ग प्रयोग गर्दा यही दूरी करिब २० मिनेटमै पार गर्न सकिने बताइएको छ।

    सुरुङमार्ग सञ्चालनमा आएपछि राजधानी भित्रिने तथा बाहिरिने यात्रुका लागि यात्रा अझ सुरक्षित, सहज, छिटो र व्यवस्थित हुने अपेक्षा गरिएको छ। नेपालको सडक पूर्वाधार विकासमा यो परियोजनालाई ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend