काठमाडौं - बाढी पूर्वानुमान महाशाखाले आज (सोमबार) देशका काठमाडौँ उपत्यकासहित २८ जिल्ला भएर बग्ने ससाना खोला तथा नदीहरूमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी आउने जोखिम रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाले सोमबार बिहान जारी गरेको बुलेटिनअनुसार काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक जिल्लाका ससाना नदी तथा खोलाहरूमा पानीको सतह तीव्र रूपमा बढ्ने सम्भावना रहेको छ। यी क्षेत्रमा आकस्मिक बाढीको उच्च जोखिम रहेकाले नदी किनार, खोला तर्ने स्थान तथा डुबान हुन सक्ने क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।
यस्तै ताप्लेजुङ, झापा, धनकुटा, संखुवासभा, सोलुखुम्बु, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, चितवन, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम) लगायत आसपासका जिल्लामा बग्ने ससाना नदी तथा खोलाहरूमा पनि बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने महाशाखाले जनाएको छ।
किन बढ्यो जोखिम?
मनसुन सक्रिय रहेकाले ती जिल्लामा लगातार तथा केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। वर्षाका कारण पहाडी तथा हिमाली क्षेत्रका ससाना खोलामा एक्कासि पानीको बहाव बढ्न सक्ने, बाढी आउन सक्ने र कमजोर भू–भागमा पहिरो जाने जोखिम पनि उच्च रहेको छ।
यी क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह
महाशाखाले विशेषगरी:
- नदी तथा खोला किनारमा बसोबास गर्ने स्थानीय,
- तटीय क्षेत्रमा कृषि तथा अन्य काम गर्ने,
- पुल, तटीय सडक र नदी पार गर्ने यात्रु,
- निर्माण कार्यमा संलग्न श्रमिक,
- तथा नदीजन्य पदार्थ उत्खनन गर्नेहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
महाशाखाको सुझाव
- नदी, खोला र खोल्सीको सतह नजिक अनावश्यक आवतजावत नगर्नुहोस्।
- बाढी आउन सक्ने स्थानमा बसोबास गर्नेहरूले सुरक्षित स्थानमा सर्न तयारी अवस्थामा रहनुहोस्।
- मौसम तथा बाढीसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पछ्याउनुहोस्।
- पहिरो र बाढीको जोखिम भएका सडकमा यात्रा गर्दा अत्यधिक सावधानी अपनाउनुहोस्।
- स्थानीय प्रशासन र सुरक्षा निकायबाट जारी हुने निर्देशनको पूर्ण पालना गर्नुहोस्।
महाशाखाले वर्षायामभर मौसमको अवस्था छिट्टै परिवर्तन हुन सक्ने भएकाले सबै नागरिकलाई सतर्क रहन र आवश्यक सतर्कता अपनाउन पुनः आग्रह गरेको छ।