काठमाडौं- लगातारको वर्षासँगै आएको बाढी, पहिरो र सडक कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड आज (सोमबार) पनि प्रभावित बनेका छन्। नेपाल प्रहरीका अनुसार हाल देशभर १३ वटा प्रमुख राजमार्ग तथा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेका छन् भने केही सडकमा एकतर्फी मात्र यातायात सञ्चालन भइरहेको छ।
काठमाडौँलाई बागमती प्रदेशको राजधानी हेटौँडासँग जोड्ने कान्तिलोकपथ पनि पहिरोका कारण बन्द भएको छ। प्रहरीका अनुसार ललितपुरको बागमती गाउँपालिका–३ पाङदुर क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो। यस्तै, कान्तिलोकपथअन्तर्गत मकवानपुरको हेटौँडा–ठिंगन सडकखण्ड पनि पहिरोका कारण बन्द रहेको छ।
यसैबीच काभ्रे–सिन्धुली जोड्ने बिपी राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्ड मा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
पूर्ण रूपमा अवरुद्ध रहेका सडकहरू
- मेची राजमार्ग – इलाम
- मध्यपहाडी राजमार्ग – भोजपुर
- मध्यपहाडी राजमार्ग – तेह्रथुम
- अरनिको राजमार्ग – सिन्धुपाल्चोक
- लामासाँघु–रामेछाप सडक – दोलखा
- त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक – रसुवा
- कालीगण्डकी करिडोर – बागलुङ
- लार्के–बेनीघाट कच्ची सडक – गोरखा
- चामे–बेँसीशहर सडक – मनाङ
- बेनी–जोमसोम सडक – म्याग्दी
- बेँसीशहर–मनाङ सडक – लमजुङ
- भेरी करिडोर सडक – रुकुम पश्चिम
- कान्तिलोकपथ (पाङदुर तथा हेटौँडा–ठिंगन खण्ड) – ललितपुर/मकवानपुर
एकतर्फी सञ्चालन भएका सडक
- कालीगण्डकी करिडोर – बागलुङ (केही खण्ड)
- मध्यपहाडी लोकमार्ग – भोजपुर (केही खण्ड)
यात्रा अघि सडकको अवस्था बुझ्न आग्रह
नेपाल प्रहरीले वर्षा अझै जारी रहेकाले पहिरो, बाढी तथा सडक कटानको जोखिम कायमै रहेको जनाएको छ। आवश्यक बाहेक जोखिमपूर्ण यात्रा नगर्न, यात्रा गर्नै परे सम्बन्धित जिल्ला प्रहरी कार्यालय, सडक विभाग वा ट्राफिक प्रहरीबाट सडकको पछिल्लो अवस्था बुझेर मात्रै यात्रा गर्न सबैलाई आग्रह गरिएको छ।
विशेषगरी पहाडी तथा हिमाली जिल्लाका सडकमा थप पहिरो खस्ने सम्भावना रहेकाले यात्रु तथा सवारी चालकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।