सुनसरी- जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकामा सोमबार पनि निषेधाज्ञा जारी गरेको छ।
सोमबार जारी गरिएको सूचनाअनुसार जिल्लाको शान्ति–सुरक्षा अवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम सोमबार बिहान १० बजेदेखि साँझ ७ बजेसम्म निषेधाज्ञा लागू गरिएको हो।
सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालका अनुसार जिल्लामा विकसित पछिल्ला घटनाक्रमको समीक्षा गर्दा सुरक्षा अवस्था क्रमशः सुधारोन्मुख देखिए पनि सम्भावित अप्रिय घटना रोक्न तथा शान्ति–सुरक्षा कायम राख्ने उद्देश्यले निषेधाज्ञालाई निरन्तरता दिइएको हो।
प्रशासनले निषेधाज्ञाको अवधिमा स्थानीय बासिन्दालाई सुरक्षा निकायको निर्देशन पालना गर्न, अनावश्यक रूपमा घरबाहिर ननिस्कन तथा कुनै पनि किसिमका अफवाह वा उत्तेजक गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ। साथै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र सार्वजनिक शान्ति कायम राख्न सबै पक्षसँग सहयोगको अपिल गरेको छ।