काठमाडौं- सिन्धुलीको फिक्कल गाउँपालिका–२, नवलपुरस्थित सुनकोसी नदीमा कार खस्दा तीनजना बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सोमबार बिहान करिब ११ः४५ बजे मध्यपहाडी लोकमार्गअन्तर्गत काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको वाग्मती प्रदेश ०८–००१ ख ०१४४ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको कारलाई ठक्कर दिएको थियो। ठक्करपछि कार सुनकोसी नदीमा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेको कारमा तीनजना सवार रहेको पुष्टि भएको प्रहरीले जनाएको छ। बेपत्ता हुनेमा कार चालक दिलकुमार लामा, सिन्धुलीको गोलान्जोर गाउँपालिका–१ निवासी गणेश थापा तथा अर्का एक जनाको पहिचान खुल्न बाँकी रहेको छ।
घटनापछि बस चालक २६ वर्षीय हेमबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, सुनकोसी नदीमा बेपत्ता भएकाहरूको खोजीका लागि नेपाल प्रहरी तथा अन्य सुरक्षा निकायका टोली परिचालन गरिएको छ। खोज तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।