चितवन - चितवनको खैरहनीमा शनिबार भएको सवारी दुर्घटनामा ज्यान गुमाउने दुईजना सहोदर दिदीभाइ भएको खुलेको छ।
खैरहनी नगरपालिका–१ तरकारी चोकस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार दिउँसो नारायणगढबाट बर्दिबासतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख २७७३ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०१–०१५ प ३३८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकलमा सवार दुईजना गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
मृत्यु हुनेमा सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ निवासी २३ वर्षीय महेबुब रजा र महोत्तरीको गौशाला नगरपालिका–५ निवासी अजिमा प्रविन रहेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार मृतकद्वय सहोदर दिदीभाइ हुन्। दुर्घटनापछि उनीहरूको तत्काल सनाखत हुन सकेको थिएन। पछि मृतकका बुबा शेष अख्तर हुसेनले शवको सनाखत गरेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि प्रहरीले बस चालक सर्लाहीको हरिवन नगरपालिका–८ का ५१ वर्षीय अजयकुमार मास्केलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
एकै परिवारका दिदीभाइको दुर्घटनामा मृत्यु भएपछि परिवार तथा आफन्तजन शोकमा परेका छन्।