उदयपुर- उदयपुरको बेलका नगरपालिका–५ जहडामा स्कुल बस र अटो एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
सोमबार बिहान पौने १० बजे सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को.प्र. ०५–००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको को.१ ख ३५१६ नम्बरको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको बस एकआपसमा ठोक्किएका हुन्।
प्रहरीका अनुसार दुर्घटनामा अटोमा सवार पाँचै जना घाइते भएका थिए। घाइतेहरूलाई तत्काल उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपा अस्पताल लगिएको थियो।
उपचारका क्रममा बेलका नगरपालिका–५ की करिब ३४ वर्षीया मन्दिरा मगर र अटोमा सवार पहिचान नखुलेकी एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुवैलाई अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा अटो चालक बेलका नगरपालिका–५ का करिब २८ वर्षीय इन्द्र थापा गम्भीर घाइते भएका छन्। यस्तै विराटनगर महानगरपालिका–१२ का १९ वर्षीय अजित गुरुङको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
बेलका नगरपालिका–५ का १८ वर्षीय रोशन मगर पनि गम्भीर घाइते भएका छन्। घाइते तीनै जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले दुर्घटनामा संलग्न स्कुल बस र त्यसका चालक बेलका नगरपालिका–५ का करिब ३६ वर्षीय विक्रम थापालाई नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।