२०८३, आश्विन ७ गते

समय लोड हुँदैछ...

रसुवाको बाढीमा मृत्यु हुनेको संख्या १५७ पुग्यो, ४७ जनाको पहिचान खुल्न बाँकी

रसुवाको बाढीमा मृत्यु हुनेको संख्या १५७ पुग्यो, ४७ जनाको पहिचान खुल्न बाँकी

बिहिवार, भाद्र ११ २०८३
बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौं-रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण मृत्यु हुनेको संख्या १५७ पुगेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार मृतकमध्ये ३४ महिला, ६३ पुरुष, ६ बालिका र ७ बालक रहेका छन्। थप ४७ जनाको भने अझै पहिचान खुल्न सकेको छैन।

    प्रहरीका अनुसार बाढी तथा त्यसबाट प्रभावित विभिन्न जिल्लामा शव फेला पर्ने क्रम जारी छ। रसुवामा तीन पुरुषको शव फेला परेको छ।

    यस्तै, नुवाकोटमा ६ महिला र ७ पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ। धादिङमा १० महिला, १० पुरुष, एक बालिका तथा पहिचान खुल्न नसकेका ६ जनाको शव फेला परेको छ।

    गोरखामा २ महिला, ८ पुरुष, एक बालक र पहिचान नखुलेका ८ जनाको शव भेटिएको छ।

    सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन्। प्रहरीका अनुसार चितवनमा १३ महिला, १८ पुरुष, एक बालिका, चार बालक तथा पहिचान खुल्न नसकेका २८ जनाको शव भेटिएको छ।

    त्यसैगरी तनहुँमा एक महिला, पाँच पुरुष, एक बालिका, एक बालक र पहिचान नखुलेका एक जनाको शव फेला परेको छ।

    नवलपरासी पूर्वमा दुई महिला, १२ पुरुष, तीन बालिका, एक बालक तथा पहिचान नखुलेका चार जनाको शव भेटिएको प्रहरीले जनाएको छ।

    बाढीका कारण ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको छ। विभिन्न स्थानमा फेला परेका शवको पहिचान तथा आफन्तको खोजी गर्ने कामसमेत भइरहेको प्रहरीले जनाएको छ।

    प्रहरीको पछिल्लो विवरणअनुसार मृतकको संख्या १५७ पुगे पनि बाढी प्रभावित क्षेत्रमा अझै खोजी तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या थप बढ्न सक्ने देखिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend