२०८३, आश्विन ७ गते

समय लोड हुँदैछ...

रसुवामा बाढीपीडितको उद्धार तीव्र, सेनाका ५ हेलिकोप्टर परिचालन

रसुवामा बाढीपीडितको उद्धार तीव्र, सेनाका ५ हेलिकोप्टर परिचालन

बिहिवार, भाद्र ११ २०८३
बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौं- रसुवामा आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धारका लागि नेपाली सेनाले पाँचवटा हेलिकोप्टर परिचालन गरेको छ। बाढी प्रभावित क्षेत्रमा सेनाले हवाई तथा जमिनी माध्यमबाट उद्धार कार्यलाई तीव्रता दिएको छ।

    नेपाली सेनाका अनुसार आज बिहान ८ बजेसम्म ११४ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये भदौ १० गते ९७ जना रहेका छन् भने आज बिहान मैलुङको टनेलबाट ३ जना र टिमुरेबाट १४ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।

    बाढीबाट प्रभावित नुवाकोटदेखि चितवनसम्मका क्षेत्रमा २ हजारभन्दा बढी नेपाली सेना खोज तथा उद्धारमा परिचालन गरिएको छ। सेनाका टोलीले उद्धारसँगै प्रभावितलाई राहत सामग्री वितरण गर्ने कामसमेत गरिरहेका छन्।

    सेनाका अनुसार रातभर ११ वटा टोलीले जमिनबाट उद्धार कार्य गरेका थिए। दुर्गम तथा बाढीबाट प्रभावित क्षेत्रमा फसेका नागरिकलाई सुरक्षित स्थानमा ल्याउने कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको छ।

    त्यसैगरी, प्रभावितका लागि आवश्यक राहत सामग्री नेपाली सेनाका ११ वटा ट्रकमार्फत त्रिशूलीसम्म ढुवानी गरिएको छ। त्यहाँबाट हवाई साधनमार्फत आवश्यकता हेरी प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउने काम भइरहेको सेनाले जनाएको छ।

    हालसम्म चार सटल राहत सामग्री टिमुरे पुगिसकेको नेपाली सेनाले जानकारी दिएको छ। बाढीका कारण प्रभावित क्षेत्रमा खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको आवश्यकता रहेकाले राहत वितरणलाई पनि सँगसँगै अघि बढाइएको छ।

    उद्धार तथा राहतसँगै घाइतेहरूको उपचारका लागि नेपाली सेनाले मेडिकल टोलीसमेत थप गरी त्रिशूली क्षेत्रमा परिचालन गरेको छ। मेडिकल टोलीले बाढी प्रभावित तथा घाइतेहरूको उपचार गरिरहेको सेनाले जनाएको छ।

    बाढी प्रभावित क्षेत्रमा अझै नागरिक फसेको हुनसक्ने भन्दै नेपाली सेनाले हवाई तथा जमिनी माध्यमबाट खोज तथा उद्धारलाई निरन्तरता दिइरहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend