२०८३, आश्विन ७ गते

समय लोड हुँदैछ...

चीनको चेतावनी

भोटेकोशीमा फेरि ठूलो बाढी आउन सक्ने, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता

भोटेकोशीमा फेरि ठूलो बाढी आउन सक्ने, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता

बिहिवार, भाद्र ११ २०८३
बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौं- चीनले नेपाललाई भोटेकोशी नदीमा पुनः बाढी आउन सक्ने चेतावनी दिएको छ। चीनतर्फबाट नेपालको परराष्ट्र मन्त्रालयमार्फत प्राप्त सूचनापछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीको तल्लो तटीय क्षेत्रमा रहेका नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चीनबाट प्राप्त भू–उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषणमा बुधबार भाद्र १० गते बाढी आएको स्थानमा नदी थुनिएर ताल बनेको देखिएको छ।

    उक्त तालको पानीको सतह बढिरहेको र ताल फुट्न सक्ने जोखिमसमेत रहेको जानकारी चीनले नेपाललाई गराएको प्राधिकरणले जनाएको छ।

    प्राधिकरणले बाढी पूर्वानुमान महाशाखालाई उद्धृत गर्दै भनेको छ, “चीनतर्फबाट नेपालको परराष्ट्र मन्त्रालय हुँदै प्राप्त पछिल्लो सूचनाअनुसार भू–उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषणअनुसार हिजो भाद्र १० मा बाढी सिर्जना भएको स्थानमा नदी थुनिएर ताल बनेको जनाइएको छ।”

    तालको आकार बढ्दै गएको र कुनै पनि बेला फुट्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्राधिकरणले अर्को सूचना जारी नभएसम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

    नदी किनारबाट सुरक्षित स्थानमा जान आग्रह

    प्राधिकरणले भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रमा रहेका स्थानीय बासिन्दा, यात्रु, उद्धारमा खटिएका सुरक्षाकर्मी तथा उद्धारकर्ता र सम्बन्धित सबैलाई नदी किनार तथा जोखिमयुक्त क्षेत्रबाट टाढा रहन अनुरोध गरेको छ।

    विशेषगरी नदीको बहाव अचानक बढ्न सक्ने भएकाले नदी किनारमा नजान, जोखिमपूर्ण स्थानमा बसोबास नगर्न र सुरक्षित तथा अग्लो स्थानमा रहन प्राधिकरणले आग्रह गरेको छ।

    यसअघि भोटेकोशीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति गरिसकेको अवस्थामा नदी थुनिएर बनेको ताल फुटेमा तल्लो तटीय क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने जोखिम देखिएको छ।

    सम्भावित जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित निकायहरूले प्रभावित क्षेत्रमा निगरानी बढाउनुका साथै नागरिकलाई सतर्क रहन आग्रह गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend