२०८३, आश्विन ७ गते

समय लोड हुँदैछ...

रसुवा र नुवाकोटका जलविद्युत् आयोजनाका ९३४ जना सम्पर्कविहीन

रसुवा र नुवाकोटका जलविद्युत् आयोजनाका ९३४ जना सम्पर्कविहीन

शुक्रवार, भाद्र १२ २०८३
शुक्रवार, भाद्र १२ २०८३
  • काठमाडौं - भोटेकोसी नदीमा आएको भीषण बाढीबाट रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ। बाढीका कारण ती जिल्लाका विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ९३४ जना सम्पर्कविहीन भएका छन्।

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले शुक्रबार बाढीबाट प्रभावित जलविद्युत् आयोजना तथा सम्पर्कविहीन व्यक्तिको विवरण सार्वजनिक गरेको हो।

    इप्पानका अनुसार रसुवा र नुवाकोटका १३ जलविद्युत् आयोजनामा क्षति पुगेको छ। तीमध्ये ११ आयोजनामा कार्यरत ९३४ जना सम्पर्कविहीन भएका हुन्।

    रसुवामा सबैभन्दा बढी माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत ५७६ जना सम्पर्कविहीन भएका छन्। त्यस्तै, रसुवागढी जलविद्युत् आयोजनाका ९३ जना, रसुवा–भोटेकोसीका ४ जना, लाङटाङ खोला जलविद्युत् आयोजनाका ४२ जना, चिलिमे जलविद्युत् आयोजनाका ८ जना र मेलुङ खोला जलविद्युत् आयोजनाका ७ जना सम्पर्कविहीन भएको इप्पानले जनाएको छ।

    यस्तै, नुवाकोटमा सञ्चालन तथा निर्माणाधीन ६ जलविद्युत् आयोजनामध्ये ५ आयोजनामा कार्यरत २०४ जना सम्पर्कविहीन भएका छन्।

    इप्पानका अनुसार त्रिशूली जलविद्युत् आयोजनाका १ जना, देवीघाट जलविद्युत् आयोजनाका १ जना, माथिल्लो त्रिशूली–३ ‘ए’का ४२ जना, माथिल्लो त्रिशूली–३ ‘बी’का १५८ जना र मिडल त्रिशूली गंगा जलविद्युत् आयोजनाका २ जना सम्पर्कविहीन छन्।

    हालसम्म माथिल्लो त्रिशूली–१ आयोजनामा कार्यरत २५४ जनाको उद्धार गरिएको इप्पानले जनाएको छ। अन्य प्रभावित आयोजनामा कार्यरत व्यक्तिको खोजी तथा उद्धारका लागि समेत पहल भइरहेको छ।

    भोटेकोसी बाढीका कारण जलविद्युत् आयोजनाका संरचना, पहुँचमार्ग तथा निर्माणस्थलमा समेत ठूलो क्षति पुगेको बताइएको छ। बाढीपछि सम्पर्कविहीन भएका कर्मचारी तथा कामदारको खोजी र उद्धार अहिले प्राथमिकतामा परेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend