काठमाडौं - नेपालमा विपद् पर्दा सहयोगका लागि अग्रपंक्तिमा उभिँदै आएको छिमेकी भारत यसपटक भदौ १० गतेको विनाशकारी भोटेकोसी बाढीपछि पनि सक्रिय देखिएको छ। बाढीबाट ठूलो जनधनको क्षति भएपछि भारतले तत्काल राहत सामग्री पठाउनदेखि उद्धार, स्वास्थ्य सेवा, फरेन्सिक परीक्षण तथा पूर्वाधार पुनर्निर्माणसम्म सहयोग अघि बढाएको छ।
भोटेकोसीमा विनाशकारी बाढी आएको दिन नै भारतले भारतीय वायुसेनाको विमानमार्फत १० टन अत्यावश्यक मानवीय सहायता सामग्री नेपाल पठाएको थियो। त्यसपछि बुधबारसम्म भारतले पाँचौँ खेपअन्तर्गत उद्धार टोली, औषधि तथा अन्य आवश्यक सामग्री नेपाल पठाइसकेको छ।
२०७२ सालको विनाशकारी भूकम्पपछि पनि भारत राहत तथा उद्धार टोलीसहित नेपाल आउने पहिलो राष्ट्रमध्ये एक थियो। यसपटकको भोटेकोसी बाढीपछि पनि विपद्को तत्काल प्रतिक्रियाका क्रममा काठमाडौं आइपुग्ने पहिलो विदेशी सहयोगी राष्ट्र भारत बनेको छ।
बाढीले बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनाका बाँध र अन्य संरचनामा ठूलो क्षति पुर्याएको छ। बाढीपछि ठूलो संख्यामा मानिसको मृत्यु भएको छ भने हजारौँ अझै सम्पर्कविहीन छन्। बेपत्ता हुनेमा नेपालीसँगै विदेशी नागरिकसमेत छन्।
जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य संरचनामा फसेकाको उद्धार अझै चुनौतीपूर्ण बनेको छ। उद्धारकर्मीहरू सम्भावित जीवित व्यक्तिको खोजीमा दिनरात खटिरहेका छन्।
यसबीच हेलिकोप्टरमार्फत खाद्यान्न, औषधि तथा अन्य अत्यावश्यक सामग्री प्रभावित क्षेत्रमा पुर्याउने काम पनि जारी छ।
भारतले प्रारम्भिक राहत सामग्री उपलब्ध गराउने छिमेकीका रूपमा मात्र नभई उद्धार, स्वास्थ्य, पूर्वाधार र मृतक पहिचानसम्मका क्षेत्रमा सहयोग विस्तार गरेको छ। भारतीय वायुसेनाका विमान, उद्धार विशेषज्ञ, फरेन्सिक विज्ञ तथा आवश्यक उपकरण नेपाल पठाएर भारतले विभिन्न चरणमा सहयोग गरिरहेको छ।
बुधबार प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले छिमेकी भारत, चीनलगायत विभिन्न राष्ट्रले विपद्का बेला गरेको सहयोगप्रति संसद्बाटै आभार व्यक्त गरेका थिए।
पाँच टनभन्दा बढी औषधि, ७४ टन राहत सामग्री
भोटेकोसी बाढीले ठूलो क्षति पुर्याएलगत्तै भारतले आपत्कालीन राहत सामग्री र औषधि नेपाल पठाउन सुरु गरेको थियो।
भदौ १० गते बाढी आएको दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेनसँग टेलिफोन संवाद गरेका थिए। त्यसपछि भारतले तत्काल राहत सामग्रीको पहिलो खेप नेपाल पठाएको थियो।
हालसम्म भारतले पाँच खेप राहत सामग्री तथा उद्धार टोली नेपाल पठाइसकेको जनाएको छ। भारतबाट नेपालमा ५.५ टन अत्यावश्यक औषधि आइसकेको छ। औषधिमा एन्टिबायोटिक, दुखाइ कम गर्ने औषधि, शल्यक्रियामा प्रयोग हुने सामग्रीलगायत स्वास्थ्य उपचारमा आवश्यक सामग्री छन्।
पछिल्लो खेपसहित भारतले नेपाललाई हालसम्म ७४ टन राहत सामग्री उपलब्ध गराएको जनाइएको छ।
सरकारी सहयोगसँगै भारतका नागरिकले पनि व्यक्तिगत रूपमा नेपालका बाढीपीडितका लागि राहत तथा अन्य सामग्री सहयोग गरिरहेका छन्। बलिउड अभिनेता सोनु सूद पनि यसै क्रममा नेपाल आएका छन्।
उनले त्रिशूली नदी क्षेत्रको बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत नेपाल एक्लो नरहेको बताएका छन्। प्रभावित परिवारमा आशा जगाउनेदेखि घर पुनर्निर्माणसम्म आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
सुरुङभित्र फसेकाको उद्धारमा भारतीय विशेषज्ञ
भोटेकोसी बाढीपछि नेपालसामु देखिएको प्रमुख चुनौतीमध्ये जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका कामदारको उद्धार पनि हो।
जलविद्युत् आयोजनाका अनुसार विभिन्न आयोजनाका सुरुङभित्र अझै ठूलो संख्यामा मानिस फसेको आशंका छ। सुरुङभित्र पुग्न माटो, चट्टान र हिलो हटाउनुपर्ने भएकाले उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको छ।
बाढी आएको आठौँ दिनसम्म पनि केही स्थानमा उद्धार टोलीलाई सुरुङभित्र पुग्न कठिनाइ भइरहेको छ। नेपाल सरकारको अनुरोधपछि भारतसहित चीन र दक्षिण कोरियाका विशेषज्ञ टोलीसमेत उद्धार कार्यमा संलग्न छन्।
भारतबाट सुरुङ उद्धारका लागि विशेषज्ञ टोली आइतबार नै नेपाल आएको थियो। भारतीय विशेषज्ञहरूले नेपाली सेनासँग सहकार्य गरी बाढी प्रभावित चिलिमे तथा लाङटाङ जलविद्युत् आयोजनाका सुरुङमा फसेका हुन सक्ने व्यक्तिको खोजी तथा उद्धारमा सहयोग गरिरहेका छन्।
भारतीय दूतावासका अनुसार भारतीय सुरुङ उद्धार टोलीले नेपाली सेनासँग समन्वय गरी सुरुङभित्र फसेको आशंका गरिएका कामदारको खोजी तथा उद्धार अभियान सञ्चालन गरिरहेको छ।
यसैबीच सन् २०२३ मा भारतको उत्तराखण्डस्थित सिल्क्यारा सुरुङमा फसेका ४१ जना कामदारको सफल उद्धारमा सहभागी ‘र्याट माइनर्स’ टोलीले पनि नेपालमा आफ्नो विशेषज्ञता उपलब्ध गराउने प्रस्ताव गरेको छ।
दिल्ली–एनसीआर क्षेत्रका ती उद्धारकर्मीमध्ये पुणेस्थित स्वयंसेवक संयोजक आनन्द कन्सालले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई पत्र लेख्दै आवश्यक परे उद्धार कार्यमा सहभागी हुन आफूहरू तयार रहेको जानकारी गराएका छन्।
भत्किएका सडक र पुल जोड्न बेलिब्रिज
बाढीका कारण सडक तथा पुल सम्पर्क विच्छेद भएका क्षेत्रमा यातायात पुनः सञ्चालन गर्न भारतले बेलिब्रिज निर्माणका लागि आवश्यक सामग्री नेपाल पठाएको छ।
बेलिब्रिज पूर्वनिर्मित तथा अस्थायी प्रकृतिको पुल हो। मोड्युलर स्टिलका खण्ड प्रयोग गरेर निर्माण गर्न सकिने भएकाले क्षतिग्रस्त क्षेत्रमा स्थायी पुलभन्दा छिटो सडक सम्पर्क पुनःस्थापित गर्न यसले सहयोग गर्छ।
भोटेकोसी बाढीले दुई दर्जनभन्दा बढी पुल तथा थुप्रै सडकमा क्षति पुर्याएको छ। काठमाडौंस्थित भारतीय दूतावासका अनुसार २३० फिट लामो एक लेनको मोड्युलर स्टिल पुल निर्माणका लागि आवश्यक उपकरण बोकेका १६ वटा ट्रक नेपाल आइसकेका छन्।
दूतावासले थप सातवटा बेलिब्रिज जडानका लागि आवश्यक उपकरणसमेत छिट्टै उपलब्ध गराउने जनाएको छ। पुल जडानका लागि आवश्यक प्राविधिक टोली पनि नेपाल पठाउने तयारी भारतले गरेको छ।
बेलिब्रिज निर्माणपछि सडक सम्पर्क विच्छेद भएका क्षेत्रमा राहत तथा उद्धार सामग्री पुर्याउन सहज हुने अपेक्षा गरिएको छ।
भारतीय चिकित्सक बाढी प्रभावित क्षेत्रमा
भारतले राहत सामग्रीसँगै चिकित्सक तथा स्वास्थ्यकर्मीमार्फत पनि नेपाललाई सहयोग गरिरहेको छ।
बाढीका कारण विस्थापित भएका धेरै नागरिक नेपाल–भारत मैत्री भवनमा आश्रय लिएर बसेका छन्। भारतको सहयोगमा सञ्चालित अस्पताल तथा स्वास्थ्य सेवामार्फत त्यहाँ आश्रय लिएका बाढीपीडितलाई उपचार र आवश्यक स्वास्थ्य सहायता उपलब्ध गराइएको छ।
बाढीपछि प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम बढिरहेका बेला भारतीय स्वास्थ्यकर्मीको सहयोगले स्थानीय स्वास्थ्य सेवामाथिको दबाब कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
मृतक पहिचानमा भारतीय फरेन्सिक विज्ञ
बाढीको पानी घट्दै गएसँगै बेपत्ता नागरिकको खोजी तथा फेला परेका शवको पहिचान अर्को ठूलो चुनौती बनेको छ।
यसका लागि भारतबाट १९ सदस्यीय फरेन्सिक विशेषज्ञ टोली नेपाल आएको छ। टोलीले बाढीपछि संकलन गरिएका डीएनए नमूना परीक्षण गरी शव पहिचानका लागि नेपाली विज्ञसँग सहकार्य गरिरहेको छ।
भारतीय फरेन्सिक विशेषज्ञले काठमाडौं उपत्यकाका दुईवटा प्रयोगशालामा काम सुरु गरिसकेका छन्। उनीहरूले नेपाल प्रहरीको केन्द्रीय फरेन्सिक विज्ञान प्रयोगशाला तथा खुमलटारस्थित राष्ट्रिय फरेन्सिक विज्ञान प्रयोगशालामा नेपाली विज्ञसँग समन्वय गरिरहेका छन्।
बाढीपछि भेटिएका धेरै शव तथा मानव अवशेष पूर्ण अवस्थामा नरहेकाले पहिचानमा कठिनाइ भइरहेको छ। डीएनए परीक्षणमार्फत पहिचान हुन सके बेपत्ता आफन्तको अवस्था पत्ता लगाउन परिवारलाई महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।
विद्यालय पुनर्निर्माणमा पनि भारतको सहयोग
भारतको सहयोग खोज तथा उद्धार र राहतमा मात्र सीमित रहने देखिएको छैन। बाढीबाट क्षतिग्रस्त संरचना पुनर्निर्माणमा समेत भारतले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
भारतले नुवाकोटको विदुरस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय पुनर्निर्माणमा सहयोग गर्ने जनाएको छ। भारतकै सहयोगमा निर्माण भएको विद्यालयको संरचना भदौ १० गतेको बाढीबाट गम्भीर रूपमा क्षतिग्रस्त भएको थियो।
विद्यालयको इतिहास नेपाल–भारत विकास सहकार्यसँग जोडिएको छ। विद्यालयको पछिल्लो भवन भारतको ‘हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट’अन्तर्गत अनुदान सहयोगमा निर्माण गरिएको थियो।
बाढीबाट क्षतिग्रस्त विद्यालय पुनर्निर्माण गरी शैक्षिक गतिविधि पुनः सञ्चालन गर्न भारतले सहयोग गर्ने भएको छ।
यसरी भोटेकोसी बाढीपछि भारतको सहयोग राहत सामग्री वितरणमा मात्र सीमित नभई उद्धार, स्वास्थ्य उपचार, मृतक पहिचान, सडक तथा पुल पुनःस्थापना र पुनर्निर्माणसम्म विस्तार भएको छ। विपद्को तत्कालीन संकट व्यवस्थापनसँगै दीर्घकालीन पुनःस्थापनामा समेत सहयोग गर्ने भारतको प्रतिबद्धताले नेपालका लागि छिमेकी सहयोगको अर्को महत्वपूर्ण आयाम देखाएको छ।