काठमाडौँ– भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३६६ जनाको शव फेला परेको छ। यस्तै, चार हजार ७७ जना अझै सम्पर्कविहीन छन्।
प्रहरी प्रधान कार्यालयले आज सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेला परेका शवमध्ये ५३३ पुरुष, ३३१ महिला तथा ५०२ वटा आंशिक शव रहेका छन्। फेला परेका शवमध्ये हालसम्म १०२ वटा शव आफन्तलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेका अनुसार सम्पर्कविहीन रहेकामध्ये स्वदेशीतर्फ दुई हजार ९०७ पुरुष र ५७२ महिला छन्। यस्तै, विदेशी नागरिकतर्फ २६९ पुरुष र ३२९ महिला सम्पर्कविहीन छन्।
बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार तथा शव व्यवस्थापनको काम सुरक्षा निकायले निरन्तर गरिरहेको छ। फेला परेका शवमध्ये एक हजार १४७ वटा शव सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको छ।
बाढीपछि हालसम्म नौ हजार २५४ जना घाइतेको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये छ हजार ३८० पुरुष, दुई हजार ८२४ महिला र पहिचान नखुलेका ५० जना छन्। उद्धार गरिएकामध्ये तीन हजार ३० जनालाई सुरक्षित रूपमा ‘होल्डिङ सेन्टर’मा राखिएको प्रवक्ता काफ्लेले जानकारी दिनुभयो।
बेपत्ता व्यक्तिको पहिचान तथा फेला परेका शवको सनाखत गर्न प्रहरीले डीएनए परीक्षणलाई प्राथमिकता दिएको छ। हालसम्म मृतक एक हजार २८६ जना र मृतकका आफन्त एक हजार ४१२ जना गरी कुल दुई हजार ६९८ जनाको डीएनए नमूना सङ्कलन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।