काठमाडौं - भोटेकोसी बाढीका कारण तीन जिल्लाका १४ हजार विद्यार्थीको पठनपाठन प्रभावित भएको छ। बाढीले केही विद्यालय पूर्ण रूपमा बगाएको छ भने केही विद्यालय भवनलाई बाढीपीडितका लागि आश्रयस्थल अर्थात् होल्डिङ सेन्टरका रूपमा प्रयोग गरिएपछि नियमित कक्षा सञ्चालनमा समस्या भएको हो।
शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार बाढीबाट ६३ वटा शैक्षिक संस्था प्रभावित भएका छन्। तीमध्ये १८ वटा विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। मन्त्रालयका सहायक प्रवक्ता वीरबहादुर धामीका अनुसार क्षतिग्रस्त विद्यालयसँगै बाढीपीडितलाई राखिएका विद्यालयसमेत जोड्दा करिब १४ हजार विद्यार्थीको पढाइ प्रभावित भएको हो।
धामीका अनुसार पूर्ण तथा आंशिक क्षति भएका विद्यालयमा कक्षा सञ्चालन गर्न कठिनाइ छ। त्यस्तै, विद्यालय भवनलाई होल्डिङ सेन्टरका रूपमा प्रयोग गरिएकाले पनि नियमित पठनपाठन प्रभावित भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार तीन जिल्लामा २९ वटा होल्डिङ सेन्टरमा करिब दुई हजार बाढीपीडित बसिरहेका छन्। अधिकांश होल्डिङ सेन्टरका लागि विद्यालय भवन प्रयोग गरिएको छ। नुवाकोटका २२ र रसुवाका ६ विद्यालयमा होल्डिङ सेन्टर सञ्चालन गरिएको छ।
शिक्षा मन्त्रालय, शिक्षा विभाग, प्रदेश सरकार, युनिसेफ र सेभ द चिल्ड्रेनको संयुक्त स्थलगत अध्ययनले पनि विद्यालयलाई राहत तथा आश्रय केन्द्रका रूपमा प्रयोग गर्दा बालबालिकाको पढाइ अवरुद्ध भएको निष्कर्ष निकालेको छ।
अध्ययन प्रतिवेदनले विद्यालय परिसरमा रहेका राहत तथा होल्डिङ सेन्टरलाई तत्काल अन्यत्र सारेर विद्यालयलाई शैक्षिक प्रयोजनका लागि मात्रै प्रयोग गर्न सिफारिस गरेको छ। त्यसका लागि बन्द रहेका कलेज, होस्टल तथा अन्य खाली संरचना प्रयोग गर्न वा आवश्यक परे भवन भाडामा लिएर बाढीपीडितको व्यवस्थापन गर्न स्थानीय तहसँग सहकार्य गर्न सुझाव दिइएको छ।
त्यस्तै, प्रभावित विद्यालयमा पाठ्यपुस्तक, शैक्षिक सामग्री तथा प्रारम्भिक बालविकास केन्द्रका सामग्री तत्काल उपलब्ध गराउन र बाढीबाट प्रभावित विद्यार्थी तथा शिक्षकका लागि मनोसामाजिक परामर्शको व्यवस्था गर्न पनि सिफारिस गरिएको छ।
पुरानै ठाउँमा विद्यालय सञ्चालन गर्न कठिन
भोटेकोसी बाढीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएका कतिपय विद्यालय पुरानै स्थानमा पुनः सञ्चालन गर्न नसकिने अवस्थामा पुगेका छन्।
बाढीले विद्यालयसँगै आसपासको बस्ती नै बगाएका कारण कतिपय स्थानमा विद्यालय पुनःस्थापना गर्न सम्भव नदेखिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ। नदी कटान तथा भू–क्षयका कारण केही विद्यालय क्षेत्र भविष्यमा पनि जोखिममा रहेको अध्ययनले देखाएको छ।
विद्यालय भवन, कक्षाकोठा, शौचालय, खानेपानी, कम्पाउन्ड तथा पहुँच पूर्वाधारमा क्षति पुगेकाले केही विद्यालयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेर मात्रै सञ्चालन गर्नुपर्ने अवस्था आएको छ।
नुवाकोटको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयले नयाँ भवन निर्माणका लागि सुरक्षित स्थानमा जग्गा खोजी सुरु गरेको छ। विद्यालयका शिक्षक दिलिपकुमार खतिवडाका अनुसार पुरानो विद्यालय रहेको स्थान अहिले बगरमा परिणत भएकाले त्यहीँ पुनः विद्यालय निर्माण गर्न कठिन छ।
विद्यालयले अस्थायी सिकाइ केन्द्रमार्फत असोज ५ गतेदेखि कक्षा सञ्चालन गर्ने तयारीसमेत गरेको छ। त्रिशूली अस्पतालको खाली जमिनमा अस्थायी संरचना निर्माण भइरहेको र बाटोको समस्याका कारण तत्काल वरपरका विद्यार्थीलाई मात्रै समेटेर कक्षा सञ्चालन गर्ने तयारी रहेको विद्यालयले जनाएको छ।
रसुवाको उत्तरगयास्थित मोर्डन ट्रिनिटी स्कुल पनि बाढीबाट पूर्ण रूपमा प्रभावित भएको छ। विद्यालय सञ्चालक सिर्जना भण्डारीले सुरक्षित स्थान उपलब्ध भएमा नयाँ ठाउँमा विद्यालय सञ्चालन गर्ने बताएकी छन्।
विद्यालय सञ्चालक एवं प्रधानाध्यापक सुरोज डंगाल बाढीपछि बेपत्ता छन्। उनीसँगै विद्यालयका नौ विद्यार्थी र दुई शिक्षक पनि बाढीमा बेपत्ता भएका छन्।
रसुवाको टिमुरेस्थित राष्ट्रिय आधारभूत माध्यमिक विद्यालय पनि बाढीबाट प्रभावित भएको छ। कक्षा ८ सम्म सञ्चालन हुँदै आएको उक्त विद्यालयका २५ विद्यार्थी र ६ शिक्षक बाढीमा बगेका छन्।
२९ अस्थायी सिकाइ केन्द्र निर्माण
बाढी प्रभावित बालबालिकाको पढाइ निरन्तरता दिन शिक्षा मन्त्रालयले युनिसेफ र सेभ द चिल्ड्रेनको सहयोगमा २९ वटा अस्थायी सिकाइ केन्द्र (टीएलसी) निर्माण गरेको छ।
युनिसेफको सहयोगमा विदुर नगरपालिका, गल्छी र बेनिघाट रोराङ गाउँपालिकामा २६ वटा टीएलसी निर्माण गरिएको छ भने सेभ द चिल्ड्रेनले थप तीनवटा निर्माण गरेको मन्त्रालयले जनाएको छ।
यी संस्थाले प्रारम्भिक बालविकास शिक्षा सञ्चालनका साथै शिक्षक र विद्यार्थीका लागि आवश्यक शैक्षिक सामग्री तथा किटसमेत उपलब्ध गराएका छन्।
अभिभावक गुमाएका बालबालिका घरेलु कामदार बन्ने जोखिम
भोटेकोसी बाढीबाट अभिभावक गुमाएका तथा विद्यालय जानबाट वञ्चित बालबालिका घरेलु कामदारका रूपमा प्रयोग हुने जोखिममा रहेको अध्ययनले औंल्याएको छ।
सरकार तथा विभिन्न संघसंस्थाले गरेको स्थलगत अध्ययनले अभिभावक गुमाएका बालबालिकाको तत्काल पहिचान गरी सुरक्षित आवाससहितको शिक्षाको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याएको छ।
टिमुरे र स्याफ्रुवेशी क्षेत्रमा पूर्ण रूपमा क्षतिग्रस्त विद्यालयमा अध्ययनरत बालबालिकालाई सुरक्षित स्थानमा रहेका छात्रावास सुविधायुक्त विद्यालयमा स्थानान्तरण गरी पठनपाठनको व्यवस्था गर्न सिफारिस गरिएको छ।
स्याफ्रुवेशी नजिकैको निलकण्ठ माध्यमिक विद्यालयमा पनि आसपासका बालबालिकाका लागि छात्रावासको व्यवस्था गरी सुरक्षित सिकाइको वातावरण बनाउन सुझाव दिइएको छ।
अध्ययनले अभिभावकविहीन बालबालिकाको तत्काल खोजी तथा संरक्षण गरी विद्यालयको छात्रावासमा सुरक्षित रूपमा राख्नुपर्नेमा जोड दिएको छ।
बाहिरी क्षेत्रबाट अभिभावकत्व प्रदान गर्ने नाममा बालबालिकालाई लैजाने प्रयास हुन सक्ने भन्दै मानव तस्करी तथा बालश्रमजस्ता जोखिमबाट बालबालिकालाई जोगाउन सबै पक्ष सचेत हुनुपर्ने अध्ययन प्रतिवेदनले औंल्याएको छ।