२०८३, आश्विन १० गते

समय लोड हुँदैछ...

कृष्णभीरको पहिरो हटाइयो, पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा

कृष्णभीरको पहिरो हटाइयो, पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा

शनिवार, आश्विन १० २०८३
शनिवार, आश्विन १० २०८३
  • धादिङ– धादिङको कृष्णभीरमा पहिरो खसेपछि अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ। बेनिघाट रोराङ गाउँपालिका–७ का वडाध्यक्ष कुमार बस्नेतका अनुसार बिहीबार राति ढुंगासहितको पहिरो खसेर अवरुद्ध भएको सडक शुक्रबार दिउँसो साढे १२ बजेदेखि एकतर्फी सञ्चालनमा ल्याइएको हो।

    पहिरो हटाएर सडक खुलाइए पनि तत्काल दुईतर्फी यातायात सञ्चालन गर्न भने कठिनाइ रहेको वडाध्यक्ष बस्नेतले बताएका छन्। सडकको अवस्था जोखिमपूर्ण रहेकाले सावधानीपूर्वक सवारी सञ्चालन भइरहेको छ।

    उनका अनुसार अब थप पहिरो नखसेमा आजैदेखि नियमित रूपमा यातायात सञ्चालन गर्न सकिने सम्भावना छ। तर कृष्णभीर क्षेत्रमा पहिरोको जोखिम कायमै रहेकाले यात्रु तथा चालकलाई सतर्क रहन आग्रह गरिएको छ।

    रातभर राजमार्ग बन्द

    बिहीबार राति कृष्णभीरमा ढुंगा र माटोसहितको पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो। पहिरो खस्ने जोखिमका कारण रातभर सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो।

    राजमार्ग अवरुद्ध भएपछि काठमाडौं जाने तथा राजधानीबाट धादिङ, चितवन, पोखरालगायत पश्चिमतर्फ जाने सवारीसाधन प्रभावित भएका थिए।

    डाइभर्सनमै फेरि पहिरो

    गत भदौ १४ गते कृष्णभीर क्षेत्रमा सडक भासिएपछि मुख्य सडकमा समस्या आएपछि डाइभर्सन निर्माण गरेर यातायात सञ्चालन गरिएको थियो।

    तर सोही अस्थायी डाइभर्सनमा पहिरो खसेपछि बिहीबार रातिदेखि पुनः सडक अवरुद्ध भएको हो।

    हाल पहिरो हटाएर डाइभर्सनबाट एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ। सडक पूर्ण रूपमा सुरक्षित र दुईतर्फी सञ्चालनयोग्य बनाउन थप काम आवश्यक रहेको स्थानीयले बताएका छन्।

    कृष्णभीर पृथ्वी राजमार्गको संवेदनशील पहिरो प्रभावित क्षेत्र भएकाले वर्षा भइरहँदा पुनः पहिरो खस्न सक्ने जोखिम कायमै रहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend