काठमाडौँ– लगातारको भारी वर्षाका कारण आएको बाढी, पहिरो र सडक भासिने समस्याले मुलुकभरका ११ वटा प्रमुख राजमार्गसहित विभिन्न सडकखण्ड अवरुद्ध भएका छन्। सडक विभागका अनुसार असोज ८ गतेदेखि भइरहेको वर्षाका कारण विभिन्न स्थानमा यातायात सञ्चालन प्रभावित भएको हो।
अवरुद्ध सडकका कारण देशका विभिन्न जिल्लाबाट काठमाडौँ आउने तथा राजधानीबाट बाहिरिने सवारीसाधन प्रभावित भएका छन्। जोखिमयुक्त स्थानमा रातिको समयमा यातायात सञ्चालनमा रोक लगाइएको छ भने कतिपय जोखिम क्षेत्रबाट दिउँसोसमेत सवारी सञ्चालन रोकिएको सडक विभागले जनाएको छ।
पृथ्वीराजमार्गमा धेरै स्थान प्रभावित
पृथ्वीराजमार्ग अन्तर्गत कृष्णभीर, चौकीभीर, जवाङखोला र फिस्लिङलगायतका स्थानमा पहिरो तथा सडक अवरोधका कारण यातायात प्रभावित भएको छ। वर्षा निरन्तर भइरहेकाले जोखिमयुक्त क्षेत्रमा सवारी सञ्चालनमा विशेष सावधानी अपनाइएको विभागले जनाएको छ।
सडक विभागका उपकरण तथा प्राविधिक टोलीले विभिन्न स्थानमा पहिरो हटाउने र सडक खुलाउने काम गरिरहेका छन्।
बीपी राजमार्गका विभिन्न खण्ड अवरुद्ध
बीपी राजमार्ग अन्तर्गत माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेँसी, कटुन्जे र चौकीडाँडालगायतका सडकखण्डमा अवरोध देखिएको छ। पहिरो तथा लेदोका कारण यातायात सञ्चालनमा समस्या आएको हो।
कान्ति राजमार्ग आंशिक प्रभावित
कान्ति राजमार्ग अन्तर्गत चपली, तकुर्चेलगायतका क्षेत्रमा सडक प्रभावित भएको छ। मकवानपुरतर्फ भने पहिरो हटाएर यातायात सञ्चालनमा ल्याइएको सडक विभागले जनाएको छ।
सिद्धिचरण राजमार्गमा सडक भासियो
सिद्धिचरण राजमार्ग अन्तर्गत ओखलढुङ्गा–सल्लेरी सडकखण्ड तथा सोलुखोलानजिकका क्षेत्रमा सडक अवरुद्ध भएको छ। कतिपय स्थानमा सडक भासिएपछि एक्जाभेटर, ह्विल लोडरलगायतका उपकरण परिचालन गरी सडक सञ्चालन गर्ने प्रयास भइरहेको विभागले जनाएको छ।
मध्यपहाडी राजमार्गमा लेदोसहित पहिरो
मध्यपहाडी राजमार्ग अन्तर्गत निसी गाउँपालिका–कानाबगर क्षेत्रमा सडक अवरुद्ध भएको छ। उक्त क्षेत्रमा लेदोसहितको पहिरो खस्ने क्रम जारी रहेकाले सडक खुलाउन चुनौती देखिएको छ।
कालीगण्डकी करिडोरमा ठूलो पहिरो
कालीगण्डकी करिडोर अन्तर्गत जैमिनी नगरपालिका–८ बेलबगरमा ठूलो प्रकृतिको पहिरो गएको छ। पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने काम भइरहेको सडक विभागले जनाएको छ।
त्यस्तै, बागलुङ–बेनी सडकखण्ड अन्तर्गत म्याग्दीका विभिन्न स्थान, हुलाकेलगायतका क्षेत्रमा पनि सडक अवरुद्ध भएको छ।
तमोर करिडोरमा पनि यातायात ठप्प
तमोर करिडोर अन्तर्गत छरुवाखोला, नावाखोला र रानीगाउँलगायतका क्षेत्रमा सडक अवरुद्ध भएको छ। बाढी तथा पहिरोका कारण यातायात सञ्चालन प्रभावित भएको हो।
पश्चिम नेपालका राजमार्ग पनि प्रभावित
राप्ती राजमार्ग अन्तर्गत कपुरकोट–खारखोला सडकखण्ड अवरुद्ध भएको छ।
त्यस्तै, कर्णाली राजमार्ग अन्तर्गत गगनेखोला, नाग्म–जुम्ला क्षेत्र, राँका–बाङ्गेसिमल–दहीखोला तथा हारेनजिकका सडकखण्डमा पनि यातायात अवरुद्ध भएको सडक विभागले जनाएको छ।
भालुवाङ–चकचके–लिवाङ सडकखण्ड का विभिन्न स्थानमा समेत सडक अवरोध रहेको छ।
सडक खुलाउन उपकरण परिचालन
सडक विभागले अवरुद्ध सडकखण्डमा पहिरो तथा लेदो हटाउन एक्जाभेटर, ह्विल लोडरलगायतका भारी उपकरण परिचालन गरेको जनाएको छ। तर निरन्तर वर्षा भइरहेकाले कतिपय क्षेत्रमा पहिरो झर्ने क्रम नरोकिँदा सडक तत्कालै पूर्ण रूपमा सञ्चालनमा ल्याउन कठिन भइरहेको छ।
विभागले जोखिमयुक्त सडकमा यात्रा गर्दा सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न तथा रातिको समयमा जोखिमयुक्त सडकमा सवारी नचलाउन आग्रह गरेको छ।
वर्षा जारी रहेकाले सडक खुलिसकेका स्थानमा पनि पुनः पहिरो वा बाढी आउन सक्ने जोखिम कायम रहेको विभागको सूचनाले देखाएको छ।