२०८३, आश्विन १० गते

समय लोड हुँदैछ...

वर्षासँगै चार प्रदेशमा ठूलो हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह

वर्षासँगै चार प्रदेशमा ठूलो हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह

शनिवार, आश्विन १० २०८३
शनिवार, आश्विन १० २०८३
  • काठमाडौं– देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेका बेला वर्षासँगै ठूलो हावाहुरी चल्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले शनिबार अपराह्न सूचना जारी गर्दै केही प्रदेशमा हावाहुरी चलिरहेको र थप क्षेत्रमा यसको प्रभाव देखिन सक्ने जनाएको हो।

    महाशाखाका अनुसार मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा ठूलो हावा चलिरहेको छ। भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण शनिबार रातिसमेत यी चार प्रदेशमा ठूलो हावाहुरी चल्ने सम्भावना रहेको विभागले जनाएको छ।

    लुम्बिनी र सुदूरपश्चिममा आइतबार पनि हावाहुरी

    विभागका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आइतबार दिउँसो पनि ठूलो हावा चल्ने सम्भावना रहेको छ।

    ठूलो हावाहुरीका कारण रूख तथा बिजुलीका पोल ढल्ने, घरका छाना तथा संरचनामा क्षति पुग्ने र यातायात प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ।

    तीन दिनदेखि देशभर वर्षा

    बंगालको खाडीमा विकसित न्यूनचापीय क्षेत्रको प्रभावका कारण पछिल्ला तीन दिनदेखि देशभर वर्षा भइरहेको विभागले जनाएको छ।

    शनिबार बिहानदेखि विशेषगरी पश्चिम नेपालका विभिन्न क्षेत्रमा वर्षा भइरहेको र यो क्रम आइतबारसम्म कायम रहने पूर्वानुमान गरिएको छ।

    वर्षासँगै हावाहुरीसमेत चल्ने भएकाले बाहिर निस्कँदा विशेष सावधानी अपनाउन, कमजोर संरचना तथा रूखमुनि नबस्न र मौसमसम्बन्धी पछिल्लो सूचना हेरेर मात्र यात्रा तथा अन्य गतिविधि गर्न विभागले आग्रह गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend