२०८३, आश्विन १८ गते

समय लोड हुँदैछ...

बाढीपहिरोपछि म्याग्दी र मुस्ताङमा विद्युत् प्रसारण लाइन मर्मत तीव्र

बाढीपहिरोपछि म्याग्दी र मुस्ताङमा विद्युत् प्रसारण लाइन मर्मत तीव्र

शुक्रवार, आश्विन १६ २०८३
शुक्रवार, आश्विन १६ २०८३
  • म्याग्दी । बाढीपहिरोबाट प्रभावित म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत् आपूर्ति पुनः सञ्चालन गर्न नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मत तीव्र पारेको छ।

    असोज ८ देखि ११ गतेसम्म परेको वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर, धिरच्याङ र दोवाको भिरकाटे क्षेत्रमा २२० केभी दाना–खुर्कोट प्रसारण लाइनका चारवटा टावर ढालेपछि लाइन अवरुद्ध भएको थियो। प्रसारण लाइनमा क्षति पुगेपछि मुस्ताङ जिल्ला र अन्नपूर्ण गाउँपालिकाका केही क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको हो।

    विद्युत् प्रसारण अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङका १७६ मेगावाट क्षमताका छवटा जलविद्युत् आयोजना समेत राष्ट्रिय विद्युत् प्रणालीमा जोडिन सकेका छैनन्। यसबाट आयोजनाहरूलाई करोडौँ रुपैयाँको आर्थिक क्षति भएको छ। विद्युत् अभावका कारण सञ्चार सेवा प्रभावित हुनुका साथै स्थानीय बासिन्दाको दैनिक जीवनसमेत प्रभावित भएको छ।

    नेपाल विद्युत् प्राधिकरणको तातोपानी वितरण केन्द्रका प्रमुख हेमराज चापागाईँका अनुसार तत्काल दाना सबस्टेशनबाट विद्युत् आपूर्ति सञ्चालन गर्न सम्भव नभएपछि मिलनचोक–दाना–कोवाङ ३३ केभी प्रसारण लाइनलाई वैकल्पिक माध्यमका रूपमा सञ्चालन गर्ने तयारी गरिएको छ।

    उनका अनुसार उक्त प्रसारण लाइनको म्याग्दी खण्डमा समेत विभिन्न स्थानमा क्षति पुगेकाले प्राधिकरणका कर्मचारी तथा ठेकेदारमार्फत मजदुर परिचालन गरी मर्मत भइरहेको छ।

    मुस्ताङको प्रसारण तथा वितरण लाइनमा भने ठूलो समस्या नरहेको स्थलगत निरीक्षणबाट देखिएको चापागाईँले बताउनुभयो। तातोपानीदेखि अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरसम्म ढलेका पोल पुनः गाड्ने तथा चुडिएका र लत्रिएका तार हटाएर नयाँ तार तान्ने काम सम्पन्न भएको छ।

    घारमा एउटा तथा राखुदेखि बेगखोला जोड्ने क्षेत्रमा चारवटा पोल ढलेका छन्। बेगखोला र तिप्ल्याङबीच करिब एक किलोमिटर पाँच सय मिटर क्षेत्रमा पोल र तार नै कालीगण्डकीको बाढीले बगाएको छ।

    सडक यातायात अवरुद्ध रहेकाले मर्मत सामग्री घटनास्थलसम्म पुर्‍याउन समेत कठिनाइ भएको छ। प्राधिकरणको प्रादेशिक कार्यालयबाट सामग्री ल्याएर बेनी हुँदै राखुसम्म सवारीसाधनबाट र त्यसपछि बेगखोला क्षेत्रमा भरियामार्फत सामग्री ढुवानी भइरहेको छ।

    प्राधिकरणले विद्युत् आपूर्ति यथाशीघ्र सञ्चालन गर्ने लक्ष्यसहित प्रसारण लाइन मर्मतको काम तीव्र गतिमा अघि बढाएको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend