काठमाडौँ - बाढीपहिरोले पृथ्वी राजमार्ग लगायतका देशका मुख्य राजमार्ग अवरुद्ध हुँदा यात्रुको चाप आन्तरिक उडानमा परेको छ । विमानस्थलस्थित वायुसेवा कम्पनीहरुका अनुसार आन्तरिक उडानको तालिका भन्दा आइतबार र सोमबार ५ घन्टासम्म डिले (ढिलाई) भई उडान भइरहेका छन् ।
आन्तरिक टर्मिनलमा यात्रुको चाप बढेका कारण अधिकाशं यात्रुको भीड र लाइन टर्मिनल भवनबाहिर पार्किङ्गसम्मै सोमबार पनि देखियो । सामान्य दिनमा बिहान ६ बजेबाट सुरु भई राति १० बजे हाराहारीभित्र भइसक्ने आन्तरिक उडान सोमबार बिहान राति २ बजेसम्म भए ।
पोखराका लागि उडेका बुद्ध एयरका दुई जहाज राति त्यहाँ भिजिविलिटीका कारण अवतरण हुन नसकेर काठमाडौंनै फर्किएका थिए । ती यात्रुहरुलाई टिकट रकम फिर्ता र होटलमा राख्न लगायतका व्यवस्थापकीय काम सक्न सोमबार बिहान साढे २ बजेसम्म लागेको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक जगन्नाथ निरौलाका अनुसार, आइतबार काठमाडौंबाट दुईतर्फी २ सय ६६ वटा उडान भए । यी उडानबाट १६ हजार ५ सय ५३ जना यात्रुले सेवा लिएका थिए । मौसमका कारण आइतबार पोखरा, सिमरा, लुक्ला लगायतका स्थानकालागि तोकिएका ४० वटा उडान रद्द भएका थिए ।
महाप्रवन्धक निरौलाका अनुसार, आइतबार यता ७ वटा आन्तरिक वायुसेवा कम्पनीमध्ये बुद्ध एयर, यति एयरलायन्स र श्री एयरलायन्सले प्राधिकरणबाट उडान अनुमति लिए अनुसार अधिकतम उडान गरेका छन् ।
‘पछिल्लो बाढीअघि आन्तरिक वायुसेवाले यात्रुहरुको कमीका कारण अनुमति लिएका सबै संख्या अनुसार उडान गरेका थिएन । कतिपय सेक्टरका उडान मर्ज गरिएका थिए । कतै रद्द गरिएका थिए,’ महाप्रवन्धक निरौलाले भने,‘तर आइतबार यता अनुमति पाएकै संख्या अनुसार विमान उडाइएको छ ।’
मौसमका कारण, उद्धार उडान, काठमाडौंबाहिरका विमानस्थल मौसमका कारण खुला हुन हुने ढिलाई, नियमित उडान शुक्रबार र शनिबार प्रभावित हुदा रोकिएका यात्रुहरुको चाप एकैसाथ आइपरेका कारण उडानहरु ५ घन्टा सम्म डिले हुने गरेको महाप्रवन्धकले बताए ।