पोखरा-इमेज सहकारीको दुई अर्ब रुपयाँ अपचलन गरेको आरोपमा पक्राउ परेका देवकुमार नेपालीको नाममा रहेका बागलुङका दुई र पोखरा सिर्जनाचोकको घर (कर्मा भवन) बैंक लिलामीमार्फत राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य गोमाकुमारी क्षेत्री र विकास गौतमले लिएका छन् । बागलुङ बजारमा सहकारी रहेको घर देवकुमार पक्राउ पर्नु अगाडि नै गोमाकुमारीको नाममा पास भइसकेको मालपोत कार्यालय बागलुङका प्रमुख देवेन्द्रबहादुर थापाले जानकारी दिए । उनकाअनुसार गत भदौमा देवकुमारको नामबाट गोमाकुमारी र विकासको नाममा पास भएको हो ।
गोमा रास्वपा केन्द्रीय सदस्य छन् भने गौतम पनि रास्वपाकै विदेश विभागमा रहेको एक केन्द्रीय सदस्यले जानकारी दिए । गोमाकुमारी बागलुङ–११ कि हुन् भने विकास शुक्लागण्डकी–१२ तनहुँका । राष्ट्रिय सहकारी बैंक, बागलुङको १३ करोड, गरिमा विकास बैंकको ३ करोड ६५ लाखको रुपैयाँ गरी लिलाम घर गोमा र गौतमले बोलकबोल गरेका छन् ।
ढोरपाटन नगरपालिकाका मेयर समेत रहेका देवकुमारले यो घरको रकम ३२ करोड भनेको थिए । तर साह्रै कममा लिलाम भएको पीडित संघर्ष समितिका संयोजक दिलबहादुर कार्कीले बताए ।
बागलुङ र पोखरामा गरी २ अर्ब रुपैयाँभन्दा बढी हिनामिना गरेर फरार भएका ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका नेपालीले आफ्नो घरजग्गा बेचेर ऋण तिर्न तयार रहेको बताएका थिए ।
कास्की र बागलुङमा गरी झण्डै २ अर्ब रुपैयाँ अपचलन गरेको सार्वजनिक भएसँगै मेयर नेपाली २०८० जेठ ५ गते फरार भएका थिए । उनी फरार भएलगत्तै जेठ १६ गते उनीहरुविरुद्ध उजुरी लिन प्रहरीले आह्वान गरेको थियो । नेपालीविरुद्ध १२ माघ ०८० मा रेडकर्नर नोटिस जारी भएको थियो ।
११ असोजमा भारतमा पक्राउ गरी उनलाई बागलुङ ल्याइएको छ । असोज १५ गते उनी पुर्पक्षका लागि कारागार चलान भएका थिए । उनीसँगै पक्राउ परेका दाइ ओमबहादुर दर्जी डेढ लाख धरौटीमा छुटे ।
बागलुङ बजारमा मुख्य कार्यालय र बुर्तिबाङ तथा गलकोटमा सेवा केन्द्रका नाममा सहकारी ऐनबिपरीत बचत रकम अपचलन गरेका नेपालीले पोखराको सिर्जनाचोकमा रहेको इमेज सहकारीबाट पनि बचत रकम अपचलन गरेको आरोपमा कास्कीमा पनि उनीविरुद्ध मुद्धा छ । नेपालीले बागलुङमा मात्र १ अर्ब ३८ करोड रुपैयाँ अपचलन गरेको भन्दै बिगो दाबी गरेर अदालतमा अभियोग दायर भएको छ भने पोखरामा ६० करोड रुपैयाँ अपचलन गरेको अभियोग छ ।