काठमाडौँ-नेपाल शिक्षक महासंघले आन्दोलनलाई थप सशक्त बनाउन बैशाख ११ गतेबाट हुने कक्षा १२ को परीक्षा कार्यक्रममा सहभागि नहुने निर्णय गरेको छ । करिव दुई साताअघिदेखि राजधानी केन्द्रित आन्दोलनमा सहभागि शिक्षक महासंघले सरकारलाई माग पुरा गर्न दवाव दिदै १२ कक्षाको परीक्षामा सहभागि नहुने निर्णय गरेको हो ।
राष्ट्रिय शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बैठकले कक्षा १२ को परीक्षा कार्यक्रममा समेत सहभागी नहुने निर्णय गरेको र सहकारसँग संवादको ढोका खुल्ला राख्ने निर्णय गरेको बताए ।
शिक्षकहरुले राजधानी काठमाडौँमा आज १३औँ दिन पनि आन्दोलन जारी राखेका थिए ।
एसईईको उत्तरपुस्तिका परीक्षणमा सहयोग गरिदिन राष्ट्रिय परीक्षा बोर्डको अपिल
राष्ट्रिय परीक्षा बोर्डले एसईईको उत्तरपुस्तिका परीक्षणमा सहयोग गरिदिनका लागि नेपाल शिक्षक महासङ्घ तथा शिक्षकहरूसँग अपिल गरेको छ । आफ्ना माग सम्बोधन गरेर विद्यालय शिक्षा ऐन जारी गराउन देशै भरका शिक्षकहरू सडक आन्दोलनमा रहेका बेला उत्तरपुस्तिका परीक्षणमा ढिलाई हुँदा विद्यार्थीको भविष्यमा असर पर्ने भन्दै अपिल गरिएको हो ।
बोर्डले विज्ञप्ति जारी गर्दै विद्यार्थीको नतिजा प्रकाशनमा एक दिन मात्रको ढिलाइले उनीहरूको जीवनको महत्त्वपूर्ण अवसर गुम्न सक्ने, उत्तरपुस्तिका परीक्षण जस्ता कार्य विज्ञ शिक्षकबाहेक अरूबाट हुन नसक्ने र नतिजा प्रकाशनमा ढिला हुने भएकोले उत्तरपुस्तिका परीक्षण गरेर सहयोग गर्न आग्रह गरेको छ । ‘अहिले एकातर्फ नेपाल शिक्षक महासङ्घको नेतृत्वमा शिक्षा विधेयकलाई ऐनको रूपमा यथाशीघ्र ल्याउनका लागि नेपाल सरकारसँग अपिल भइरहेको छ भने अर्कोतर्फ एसईई दिइसकेका विद्यार्थी समयभित्र नतिजा प्राप्तिको पर्खाइमा छन् । विद्यार्थीको नतिजा प्रकाशनमा एक दिन मात्रको ढिलाइले उनीहरूको जीवनको महत्त्वपूर्ण अवसर गुम्न सक्छ । उत्तरपुस्तिका परीक्षण जस्ता कार्य विज्ञ शिक्षकबाहेक अरूबाट हुन सक्दैन । यसका लागि राष्ट्रिय परीक्षा बोर्डले शिक्षकहरूकै सल्लाह र सुझावमा नतिजा प्रकाशनको कार्यतालिकासहित कार्ययोजना बनाई काम सुरु भइरहेको छ’ विज्ञप्तिमा भनिएको छ । यसैगरी कक्षा १२ को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा २०८२ वैशाख ११ गतेदेखि सुरु हुने उल्लेख गर्दै उत्तरपुस्तिका परीक्षण तथा परीक्षा सञ्चालन व्यवस्थापनमा शिक्षकहरूकै अहम् भूमिका रहने भएकोले सदाझैँ जिम्मेवारी वहन गरी सहयोग पु¥याई दिन बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले अनुरोध गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ ‘शिक्षकहरूको पेसागत बढोत्तरी, पेसागत सुरक्षा तथा विद्यार्थीका आवश्यकता र अवसर दुवै प्राथमिक र संवेदनशील पक्ष हुन् । यस संवेदनशीलताभित्र आफ्ना माग तथा अपिलसँगै विद्यार्थीको भविष्यलाई समेत दृष्टिगत गरी उल्लिखित कार्यहरूको जिम्मेवारी सदाझैँ वहन गरी सहयोग पुयाई दिनुहुन नेपाल शिक्षक महासङ्घ तथा सम्पूर्ण शिक्षकहरूसँग हार्दिक अनुरोध गरिन्छ ।’
