२०८३, श्रावण २२ गते

समय लोड हुँदैछ...

कोरोनाकालमा शुरु गरेको ड्रागन फ्रुट खेतीवाट मनग्ये कमाउँदै आचार्य

कोरोनाकालमा शुरु गरेको ड्रागन फ्रुट खेतीवाट मनग्ये कमाउँदै आचार्य

आवर अल न्यूज
बुधवार, भाद्र १२ २०८१
आवर अल न्यूज
बुधवार, भाद्र १२ २०८१
  • बागलुङ-विमलेश आचार्य पेसाले निर्माण व्यवसायी हुन्। निर्माणको काम त उनले नियमित गर्दै आएका छन्। यसको साथै उनले व्यावसायिक रूपमा ड्रागन फ्रुटको खेतीलाई अगाडि बढाएका छन्। जिल्लाको बागलुङ नगरपालिका– १ रामरेखाका आचार्यले निर्माणको कामसँगै कृषिलाई पनि प्राथमिकतामा राखेका छन्। कोरोना महामारीको वेला पलाएको सोचले अहिले विमलेशलाई व्यावसायिक रूपमा नै ड्रागन फ्रुटको खेतीमा रमाउने बनाएको छ।

    ‘तीन वर्ष पहिले कोरोनाको समय थियो । हाम्रो निर्माणको काम सबै ठप्प भएको थियो,’ आचार्यले भने, ‘निर्माणको काम रोकिएको अवस्था, आफ्नै बारी बाँझो, यसमा केही गरौँ भन्ने सोच पलायो, पूर्वमन्त्री लोकेन्द्र विष्टले गरेको ड्रागन खेतीबारे युबट्युबमा भिडियो हेर्ने मौका पाएको थिएँ। अन्य केही सफल ड्रागन व्यवसायीको प्रेरणा पनि पाएर मैले यो खेतीको सुरुवात यसैगरी गरेको हुँ ।’

    आचार्यले आफ्नो घरवरिपरि र बागलुङ नगरपालिका– १ माझीबस्तीनजिकै खनियाघाटमा व्यावसायिक रूपमा नै ड्रागन फ्रुट खेतीको थालनी गरेका हुन्। ड्रागन फ्रुट लगाएको एक वर्षमा नै बिरुवा हुर्केर राम्रो उत्पादन दिन थालेपछि आचार्य यसैमा रमाउन थालेका छन्। ड्रागन फ्रुटको पछिल्लो समय निकै राम्रो माग र मूल्य भएपछि बागलुङमा व्यावसायिक उत्पादन थालिएको आचार्य बताउँछन्। उनले आफ्नो घरनजिकैको दुई रोपनी जग्गा र खनियाघाटको थप चार रोपनी जग्गामा दुई हजार दुई सय ड्रागन फ्रुटका बिरुवा रोपेका थिए। गत वर्षदेखि नै राम्रो उत्पादन दिन सुरु भएको ड्रागन फ्रुटबाट झन्डै सात लाख रुपैयाँ आम्दानी भएको थियो। यस वर्ष अझै राम्रो उत्पादन भएको हुँदा आम्दानी बढ्ने उनले बताए।

    ‘अघिल्लो वर्षभन्दा यस वर्ष राम्रो फल लागेको छ। एउटै पोलमा झन्डै दुईदेखि चार केजीसम्म उत्पादन हुन्छ,’ आचार्यले भने, ‘यो पाँच–६ पटक नै टिप्न पाइनेछ। अघिल्लो वर्षमा भन्दा यस वर्ष उत्पादन र आम्दानी राम्रो हुने आस छ।’ ड्रागन फलको बिक्रीका लागि बजारको समस्या नरहेको र प्रतिकेजी पाँच सय रुपैयाँका दरले घरबाट नै बिक्री भइरहेको उनले जानकारी दिए।

    आचार्यले ड्रागन फ्रुट खेती विस्तारका लागि झन्डै ५० लाख रुपैयाँ लगानी गरिसकेका छन् । बिरुवाका लागि सिमेन्टको पोल र टायरसमेत व्यवस्थापन गर्नुपर्दछ । हाल उनको बारीमा रातो र सेतो गरी दुई प्रजातिका फल उत्पादन हुँदै आएका छन् । विमलेश निर्माणको कामभन्दा पनि अहिले ड्रागन फ्रुटको बारीमा रमाउन मन लाग्ने बताउँछन्।

    बहुगुणी फलफूलका रूपमा रहेको ड्रागन फ्रुटको खेतीका लागि विमलेशका बाबु महेन्द्र आचार्यसहित परिवारका अन्य सदस्यले पनि नियमित सघाउँदै आएका छन्। विमलेश निर्माणको काममा व्यस्त रहँदा पनि बाबुले नियमित रूपमा हेरचाह गर्दै आएका छन्। यो खेतीमा सुरुको लगानी बढी हुने बाबु महेन्द्र आचार्य बताउँछन्। ‘बिरुवा रोपेपछि पोल र सुरक्षाका लागि गरिने तारबारका कारण सुरुवाती लगानी त धेरै नै हुँदो रहेछ। तर, लगाएको एक वर्षमा नै उत्पादन दिन सुरु भयो,’ महेन्द्रले भने, ‘यसका लागि यहाँको हावापानी निकै राम्रो रहेछ। अघिल्ला वर्षमा भन्दा यस वर्ष राम्रो उत्पादन भएको छ,  मलजल राम्रो भए उत्पादन पनि राम्रो हुने रहेछ।’ उनले खर्च घट्दै गएको र बिस्तारै आम्दानी दिन लागेको बताए। आचार्य परिवारले खनियाघाटमा गरिएको ड्रागन खेतीको हेरचाहका लागि एउटा परिवार नै राखेर उनीहरूलाई रोजगारीसमेत दिएको छ।

    दक्षिण पूर्वी एसियाका देश भियतनाम, फिलिपिन्स, थाइल्यान्डलगायत हुँदै अहिले यो फल नेपालमा भित्रिएको हो। बागलुङमा व्यावसायिक रूपमा नै यो खेती गर्ने आचार्य सम्भवतः पहिलो हुन्।  ड्रागन फल गर्मी र सुक्खा हावापानीमा हुने सिउँडी प्रजातिको बिरुवा हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend