पाल्पा-माथागढी गाउँपालिका–७ झडेवासस्थित कच्ची सडक खण्डमा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
शनिबार साँझ करिब ६ बजे झडेवाबाट चुँदुङ्गा खानीतर्फ जाँदै गरेको लु २ ख ४५५ नम्बरको खाली टिपर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
दुर्घटनामा चालक अर्घाखाँचीको सितगंगा नगरपालिका–४ बस्ने २६ वर्षीय चिन्ता बहादुर सुनारसहित अन्य दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य मृतक दुई जनाको नाम, थर र ठेगाना खुल्न बाँकी रहेको छ।
दुर्घटनामा तानसेन नगरपालिका–१० पटुवा बस्ने ३३ वर्षीय राजन चिदी गम्भीर घाइते भएका छन्। घाइतेलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास लगिएकोमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।