काठमाडौँ - हिमालय क्षेत्रमा बढ्दो तापक्रमले नेपालजस्ता जलवायु जोखिममा रहेका मुलुकको अनुकूलन क्षमतामाथि थप चुनौती सिर्जना गरिरहेको वैज्ञानिक अध्ययनले देखाएको छ।
हिमनदी पग्लिने, स्थायी रूपमा हिउँले ढाकिएका क्षेत्र चट्टानी भूभागमा परिणत हुने तथा पहाडी चट्टान र भौगर्भिक संरचना कमजोर बन्दै जाने क्रम तीव्र भइरहेको वैज्ञानिकहरूको विश्लेषण छ। मानव सिर्जित तापक्रम वृद्धिका कारण उच्च हिमालयमा दीर्घकालीन वातावरणीय परिवर्तन भइरहेको र त्यसले हिमनदी पातलिने, पर्माफ्रोस्ट पग्लिने तथा चट्टान अस्थिर हुने जोखिम बढाएको अध्ययनमा उल्लेख छ।
वैज्ञानिक विश्लेषणअनुसार नेपाल–चीन सीमा क्षेत्रमा भदौ १० गते भएको चट्टान–हिमपहिरो र त्यसपछिको बाढीलाई कुनै एउटा मौसमी घटनाको परिणामका रूपमा मात्र हेर्न सकिँदैन। जलवायु परिवर्तन, हिमनदीको क्षय, पर्माफ्रोस्ट पग्लिनु, चट्टानी संरचनाको कमजोरी र विगतका भौगर्भिक घटनासहितका विभिन्न कारण एकैपटक जोडिँदा विपद् निम्तिएको वैज्ञानिकहरूको निष्कर्ष छ।
करिब दुई वर्ग किलोमिटर क्षेत्रको चट्टान र हिम खस्यो
प्रारम्भमा उक्त घटना भूकम्पका कारण भएको हुनसक्ने अनुमान गरिए पनि पछिल्ला वैज्ञानिक प्रमाणले करिब दुई वर्ग किलोमिटर क्षेत्रमा फैलिएको चट्टानी भित्तो र हिमनदीको ठूलो भाग एकैपटक खसेपछि विपद् सुरु भएको देखाएको छ।
अध्ययनअनुसार करिब ५ हजार १५० मिटर उचाइबाट खसेको चट्टान र हिउँको ठूलो ढिक्का करिब ३ हजार ७५० मिटर उचाइको उपत्यकासम्म पुगेको थियो। ठूलो परिमाणमा चट्टान र हिम खस्दा उत्पन्न ऊर्जाले भूकम्पजस्तै भूकम्पीय तरङ्ग सिर्जना गरेको र उक्त ऊर्जा करिब ५.५ म्याग्निच्युडको भूकम्प बराबर भएको वैज्ञानिक विश्लेषण छ।
चट्टान, हिउँ र भग्नावशेष तीव्र गतिमा तल झर्दा उत्पन्न घर्षण तथा यान्त्रिक ऊर्जाका कारण थप हिउँ पग्लिएको हुनसक्ने अध्ययनमा उल्लेख छ। त्यसमा हिमनदीमुनिको पानी, साना खाल्टामा जमेको हिउँ तथा पर्माफ्रोस्ट क्षेत्रको पानी मिसिँदा ठूलो परिमाणमा पानी, हिम, चट्टान र गेग्रानको मिश्रण बनेको थियो।
त्यही मिश्रणले विनाशकारी गेग्रानयुक्त बाढीको रूप लिएको वैज्ञानिकहरूको निष्कर्ष छ।
सात मिनेटमै रसुवागढी
अध्ययनअनुसार चट्टान र हिउँसहितको भेल उद्गमस्थलबाट २२ किलोमिटर तल रहेको रसुवागढी क्षेत्रमा करिब सात मिनेटमै पुगेको थियो। यसको औसत गति प्रतिघण्टा करिब १८८ किलोमिटर रहेको अनुमान गरिएको छ।
तीव्र गतिको बाढीले रसुवागढी सीमा क्षेत्र, टिमुरे तथा स्याफ्रुबेँसी आसपासका संरचनामा ठूलो क्षति पुर्याएको थियो। स्थानीयवासी, तीर्थयात्री, सीमा सुरक्षाकर्मी तथा जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीसमेत प्रभावित भएका थिए।
अध्ययनमा बाढीले टिमुरे तथा वेत्रावतीलगायतका बजारमा ठूलो क्षति पुर्याउनुका साथै ऐतिहासिक तथा स्थानीय पहिचानसँग जोडिएका संरचना र ठूला ढुङ्गासमेत बगाएको उल्लेख छ।
वैज्ञानिक विश्लेषणअनुसार सात घण्टाभन्दा कम समयमा बाढी करिब २०० किलोमिटर तल देवघाट पुगेको थियो। त्यहाँ त्रिशूली नदीको बहाव दोब्बरभन्दा बढी हुँदै प्रतिसेकेन्ड करिब ५ हजार ८५० घनमिटर पुगेको अनुमान गरिएको छ।
अध्ययनले करिब दुई करोड घनमिटर अतिरिक्त पानी चार घण्टाभन्दा कम समयमा बगेको र करिब तीन करोड पाँच लाख घनमिटर गेग्रान तथा भग्नावशेष थुपारिएको अनुमान गरेको छ।
शून्य डिग्रीको सीमा प्रतिदशक करिब १०० मिटर माथि
वैज्ञानिक अध्ययनअनुसार मानव सिर्जित तापक्रम वृद्धिका कारण उच्च हिमालयमा शून्य डिग्री सेल्सियस तापक्रम रहने सीमा अर्थात् ‘जिरो डिग्री आइसोथर्म’ प्रतिदशक करिब १०० मिटरका दरले माथि सर्दै गएको छ।
यसले उच्च हिमाली क्षेत्रमा जमिन तथा चट्टानभित्र रहेको स्थायी बरफ र पर्माफ्रोस्ट पग्लिने क्रम बढाएको छ। पर्माफ्रोस्टमा रहेको बरफले चट्टानका चिरालाई जोडेर पहाडी भित्तालाई स्थिर राख्न सहयोग गर्ने भएकाले यसको क्षयले चट्टान कमजोर हुनसक्ने वैज्ञानिकहरूको भनाइ छ।
उट्रेक्त विश्वविद्यालयका पर्वतीय जलविज्ञ प्राध्यापक वाल्टर इम्मरजिलका अनुसार पर्माफ्रोस्ट क्षय, हिमनदी पछाडि हट्नु र अत्यधिक गर्मी एकसाथ हुँदा हिमाली चट्टानको संरचनात्मक स्थायित्व प्रभावित हुनसक्छ।
हिमनदी पातलिँदा प्राकृतिक सहारा घट्दै
तापक्रम वृद्धिका कारण हिमनदी पातलिँदै र पछाडि हट्दै जाँदा घटनास्थल आसपासका चट्टानले प्राप्त गर्दै आएको प्राकृतिक सहारा कमजोर भएको हुनसक्ने अध्ययनमा उल्लेख छ।
चट्टानका चिरामा जमेको बरफ पग्लिँदा चट्टानबीचको ‘बन्धन’ कमजोर हुनुका साथै पग्लिएको पानी चिराभित्र प्रवेश गर्दा पानीको दबाब बढ्ने भएकाले पहाडी संरचनामा थप अस्थिरता आउन सक्ने वैज्ञानिकहरूको विश्लेषण छ।
२०७२ को भूकम्पको प्रभाव पनि हुनसक्ने
वैज्ञानिकहरूले विसं २०७२ को भूकम्पले घटनास्थल आसपासको चट्टानी संरचना पहिले नै कमजोर बनाएको हुनसक्ने बताएका छन्। यद्यपि उक्त भूकम्पको भदौ १० गतेको घटनामा प्रत्यक्ष योगदान कति थियो भन्ने अझै स्पष्ट रूपमा पुष्टि नभएको अध्ययनले जनाएको छ।
तर पहिले नै कमजोर भएको चट्टानी संरचनामा दीर्घकालीन तापक्रम वृद्धि, हिमनदीको क्षय र पर्माफ्रोस्ट पग्लिने प्रक्रियाले थप अस्थिरता सिर्जना गरेको हुनसक्ने वैज्ञानिकहरूको धारणा छ।
घटनाअघि असामान्य गर्मी
अध्ययनअनुसार चट्टान–हिमपहिरो हुनुअघि जुलाई र अगस्ट २०२६ स्थानीय स्तरमा अहिलेसम्मकै अत्यधिक तातो महिनामध्ये देखिएका थिए।
त्यसअघि सन् २०२५ को अक्टोबर र नोभेम्बरमा भएको उल्लेख्य हिमपातले पहाडमा ठूलो मात्रामा हिउँ सञ्चय गरेको र त्यसपछिको असामान्य तापक्रमका कारण तीव्र हिमपग्लाइबाट घटनाअघि थप पानी उपलब्ध भएको हुनसक्ने वैज्ञानिकहरूको धारणा छ।
जलवायु एट्रिब्युसन विश्लेषणअनुसार घटनास्थल क्षेत्रमा जुलाई र अगस्टको तापक्रम औद्योगिक युगअघिको तुलनामा मानव सिर्जित जलवायु परिवर्तनका कारण करिब १.५ डिग्री सेल्सियस बढी भएको अध्ययनमा उल्लेख छ। वार्षिक औसत तापक्रम वृद्धि भने करिब दुई डिग्री सेल्सियस रहेको वैज्ञानिकहरूले बताएका छन्।
‘यो मौसमी घटना मात्र होइन’
इम्पेरियल कलेज लन्डनका चरम मौसम तथा जलवायु परिवर्तन अनुसन्धानकर्ता डा. बेन क्लार्कले भोटेकोशीको घटना कुनै एउटा चरम मौसमी घटनाका कारण मात्र नभएको बताउनुभएको छ।
उहाँका अनुसार दीर्घकालीन जलवायु परिवर्तनले उच्च हिमाली वातावरणमा परिवर्तन ल्याइरहेको छ र त्यसले विपद्का सम्भावित विभिन्न कारकलाई प्रभावित गरिरहेको छ।
रेडक्रस रेडक्रिसेन्ट क्लाइमेट सेन्टरका वरिष्ठ प्राविधिक सल्लाहकार माधव उप्रेतीले भोटेकोशी विपद्ले नेपाल जलवायु अनुकूलनको सीमामा पुगिसकेको अवस्थातर्फ संकेत गरेको बताउनुभएको छ।
उहाँले भविष्यका विपद्लाई मानवीय त्रासदीमा परिणत हुन नदिन विश्वव्यापी उत्सर्जन कटौतीसँगै जोखिममा रहेका समुदायले व्यहोरेको हानि तथा नोक्सानी सम्बोधन गर्न अन्तरराष्ट्रिय सहयोग आवश्यक रहेको बताउनुभएको छ।
हिमालयमा बढ्दो जोखिमको चेतावनी
क्लाइमेट एनालिटिक्स साउथ एसियाका निर्देशक तथा जलवायुविद् मञ्जित ढकालले भोटेकोशी विपद्लाई तीव्र गतिमा तातिरहेको हिमालयमा बढ्दै गएको जोखिमको गम्भीर संकेतका रूपमा व्याख्या गर्नुभएको छ।
उहाँका अनुसार तापक्रम वृद्धिले हिमनदी, हिउँ र पर्माफ्रोस्टमा परिवर्तन ल्याउनुका साथै एकपछि अर्को असर निम्त्याउने जटिल विपद्को जोखिमसमेत बढाइरहेको छ।
वैज्ञानिकहरूले उच्च हिमालयमा यस्ता जोखिम कम गर्न निरन्तर वैज्ञानिक निगरानी, हिमनदी तथा पर्माफ्रोस्टको अध्ययन, पूर्वसूचना प्रणालीको सुदृढीकरण, सीमापार तथ्याङ्क आदानप्रदान तथा जलवायु जोखिमलाई ध्यानमा राखेर पूर्वाधार विकास आवश्यक रहेको बताएका छन्।
साथै, हिमनदी र उच्च हिमाली पर्माफ्रोस्टले तापक्रम वृद्धिप्रति दशकौँसम्म प्रतिक्रिया जनाउने भएकाले विगतमा भइसकेको तापक्रम वृद्धिको प्रभाव भविष्यमा पनि हिमाली भू–संरचनामा देखिन सक्ने वैज्ञानिकहरूको चेतावनी छ।