२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

नयाँ डिजाइनको एक हजार रुपैयाँको नोट आजदेखि चलनचल्तीमा

नयाँ डिजाइनको एक हजार रुपैयाँको नोट आजदेखि चलनचल्तीमा

बिहिवार, आश्विन ८ २०८३
बिहिवार, आश्विन ८ २०८३
  • काठमाडौं- नेपाल राष्ट्र बैंकले नयाँ डिजाइन तथा सुरक्षण विशेषतासहितको १ हजार रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याएको छ।

    राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सूचना जारी गर्दै शुक्रबारदेखि १ हजार रुपैयाँ दरको ‘सिरिज २०२५’ बैंकनोट साविककै आकारमा तर नयाँ रङ तथा सुरक्षण विशेषतासहित चलनचल्तीमा ल्याइएको जनाएको छ।

    नयाँ नोटको अग्रभागमा सगरमाथाको चित्र, लालीगुराँसको पानीछाप तथा ‘१०००’ अङ्कित पानीछाप राखिएको छ। नोटमा बैजनी रङको घेराभित्र फिक्का हरियो रङ प्रयोग गरिएको छ।

    दृष्टिविहीन व्यक्तिले स्पर्शबाट नोट पहिचान गर्न सक्ने गरी रोमन अक्षर ‘एम’ तथा तेर्सा रेखाहरू राखिएका छन्। त्यस्तै, सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने भगवतीको चित्रसमेत नोटमा समावेश गरिएको छ।

    नोटमा सीधा हेर्दा रातो र ढल्काउँदा हरियो देखिने चलायमान विशेषतायुक्त सुरक्षण धागो राखिएको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकको आधिकारिक विवरणअनुसार नयाँ नोटमा पानीछाप, ‘सि थ्रु रजिस्टर’ तथा सुरक्षण धागोलगायत विभिन्न सुरक्षण विशेषता प्रयोग गरिएका छन्।

    नयाँ नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलको दस्तखत रहेको छ।

    नोटको पृष्ठभागमा चितवन जिल्लास्थित सरकारी हात्तीसारमा देवकली नामक हात्तीबाट जन्मिएका दुर्लभ मानिने राम र लक्ष्मण नामका जुम्ल्याहा हात्तीको चित्र राखिएको छ।

    त्यस्तै, नेपालको सातवटा प्रदेशलाई प्रतिनिधित्व गर्ने गरी सातवटा लालीगुराँसका चित्र तथा हनुमानढोकास्थित ल्होँचोकमा रहेको ऐतिहासिक थामको आकृति राखिएको राष्ट्र बैंकले जनाएको छ।

    राष्ट्र बैंकले यसअघि पनि विभिन्न दरका नयाँ सिरिजका नोटहरू सुरक्षण विशेषतासहित प्रचलनमा ल्याउँदै आएको छ।

    1000_4r0fpkyPkS.png
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend