२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

भोजपुरमा अकबरे खुर्सानीमा डढुवा रोगको प्रकोप, किसान चिन्तित

भोजपुरमा अकबरे खुर्सानीमा डढुवा रोगको प्रकोप, किसान चिन्तित

बिहिवार, आश्विन ८ २०८३
बिहिवार, आश्विन ८ २०८३
  • भोजपुर- भोजपुरमा व्यावसायिक रूपमा लगाइएको अकबरे खुर्सानीमा ‘कोत्रे’ अर्थात् डढुवा रोगको प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन्। फल टिप्ने तथा पाक्ने समयमा खुर्सानीमा डढुवा लाग्ने, किरा पर्ने, पात कुप्रो पर्ने र बोट सुक्नेजस्ता समस्या देखिएपछि किसान समस्यामा परेका हुन्।

    भोजपुर नगरपालिका–५ बोखिमका अगुवा किसान अनिल श्रेष्ठका अनुसार खुर्सानीको आधा भाग सुक्ने गरी ‘कोत्रे’ रोग देखिएको छ। रोगको सङ्क्रमण सुरु भएको एक साताभित्रै बारीका खुर्सानी पूर्ण रूपमा नष्ट हुने अवस्था आउने गरेको उहाँले बताउनुभयो।

    विशेषगरी खुर्सानी पाक्ने र बजारमा बिक्रीका लागि योग्य हुने समयमा रोगको असर बढी देखिने गरेको किसानको भनाइ छ। यसले वर्षभरि गरेको मेहनत खेर जाने अवस्था आएको उनीहरूको गुनासो छ।

    खुर्सानीलाई बोटमै रातो भएर पाक्न दिँदा डढुवा रोगको प्रकोप बढ्ने र फल कुहिएर जाने भएकाले किसानले परिपक्व नहुँदै हरियो खुर्सानी टिपेर बजार पठाउन बाध्य भएका छन्। रातो खुर्सानी उत्पादन गर्ने उद्देश्यले गरिएको खेतीसमेत प्रभावित भएको किसान बताउँछन्।

    स्थानीय कृषक सम्झना प्रधानका अनुसार डढुवा रोगसँगै खुर्सानीमा किरा लाग्ने, पात कुप्रो पर्ने र जरा कुहिनेजस्ता समस्या पनि देखिएका छन्। उहाँका अनुसार डढुवा रोगका कारण सबैभन्दा बढी आर्थिक क्षति भइरहेको छ।

    रोग एउटा बोटबाट अर्को बोटमा तीव्र रूपमा सर्ने भएकाले किसानले सङ्क्रमित बोट उखालेर नष्ट गर्न थालेका छन्। केही दिनमै पूरै बारीमा फैलिन सक्ने भएकाले रोग नियन्त्रण गर्न कठिन भइरहेको किसानको भनाइ छ।

    पछिल्ला वर्षमा परम्परागत खाद्यान्न बालीको विकल्पका रूपमा भोजपुरमा अकबरे खुर्सानीको व्यावसायिक खेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ। नगदे बालीका रूपमा राम्रो आम्दानी हुने भएपछि जिल्लाका साना तथा मझौला किसान यसतर्फ आकर्षित भएका थिए। तर उत्पादनको समयमा रोग तथा किराको प्रकोप देखिएपछि यस वर्ष उत्पादनमा गिरावट आउने चिन्ता बढेको छ।

    कृषि ज्ञान केन्द्रका सूचना अधिकारी घनश्याम बरालका अनुसार खुर्सानीमा समस्या देखिएका क्षेत्रमा स्थलगत तालिम सञ्चालन गर्नुका साथै विषादीको प्रयोग र रोग नियन्त्रणका अन्य उपायबारे किसानलाई जानकारी दिइँदैछ। पछिल्लो समय जिल्लामा खुर्सानीमा देखिने डढुवा रोगको समस्या बढ्दै गएको उहाँले बताउनुभयो।

    कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष भोजपुर जिल्लाभर करिब ५४५ हेक्टर क्षेत्रफलमा अकबरे खुर्सानीको व्यावसायिक खेती भइरहेको छ। गत आर्थिक वर्षमा जिल्लामा ५ हजार २३२ मेट्रिक टन अकबरे खुर्सानी उत्पादन भएको थियो। उक्त उत्पादनबाट भोजपुरमा करिब २३ करोड रुपैयाँ भित्रिएको केन्द्रले जनाएको छ।

    भोजपुरका पौवादुङमा गाउँपालिका, भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, अरुण गाउँपालिका, हतुवागढी गाउँपालिका र षडानन्द नगरपालिकालगायतका क्षेत्रमा अकबरे खुर्सानी उत्पादन हुने गरेको छ। यहाँ उत्पादित खुर्सानी स्थानीय बजारसँगै धरान, विराटनगर र काठमाडौंलगायतका प्रमुख सहरमा बिक्रीका लागि पठाइने गरिएको छ।

     
     
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend