काठमाडौं– देशकै जेठो वीर अस्पतालले क्यान्सर, मुटु, हड्डी, मिर्गौला, मांसपेशी, फोक्सोलगायतको अवस्था पत्ता लगाउने अत्याधुनिक ल्याब मेसिन भित्र्याएको छ । विश्वका सम्पन्न मुलुकहरूले जटिल रोगमा अपनाउँदै आएको ‘स्पेक्ट–सिटी’ मेसिन भियनास्थित इन्टरनेसनल एटोमिक इनर्जी एसोसिएसन ९आइइए०ले वीरलाई पूर्ण अनुदानमा दिएको हो ।
मेसिनको मुख्य क्षमता भनेकै क्यान्सरको सुरुवातदेखि भविष्यसम्मको अवस्था पत्ता लगाउनु हो । बिरामीको शरीरमा भएका क्यान्सरका कोषहरूभित्र रेडियोएक्टिभ पदार्थ जम्मा भएको अवस्था पत्ता लगाउने यो मेसिनले क्यान्सर कहाँसम्म फैलिएको भन्ने नतिजा देखाउँछ । त्यस्तै, मुटु, हड्डी, मांसपेशी, फोक्सो, मिर्गौलालगायतले कसरी काम गरिरहेका छन् र ती अंगको अवस्था कस्तो छ भनेर पनि पत्ता लगाउन सक्छ । अर्थात्, रोगको गहिराइ, आकार, प्रभावित शरीरको अंग, त्यो अंगको अवस्था र त्यसको आयुलगायत पत्ता लगाउँछ । यो मेसिन अंगदान गर्दा पनि प्रभावकारी मानिन्छ । व्यक्तिको मिर्गौलाले कति काम गरिरहेको छ, कुन मिर्गौला दान गर्ने र कुन आफूले राख्ने भन्ने रिपोर्ट दिन्छ । हड्डी स्क्यान गर्ने, थाइराइडको गम्भीर अवस्था पत्ता लगाउन मद्दत गर्छ ।
१५ करोड २० लाख बजार मूल्य रहेको यो मेसिन आइतबार ल्याइएपछि जडानको काम थालिएको र चैत अन्तिम सातादेखि नै सञ्चालनमा ल्याइने चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स०का उपकुलपति डा। भूपेन्द्र बस्नेतले बताए । ‘यो मेसिन नेपालमै पहिलोपटक ल्याइएको एड्भान्स टेक्नोलोजी हो । कुनै निजी अस्पतालमा पनि छैन । हामीसँग पहिले यस्तै किसिमको गामा क्यामेरा भन्ने मेसिन थियो, तर स्पेक्ट–सिटीजस्तो एड्भान्स भने होइन । त्यो पनि पछि बिग्रियो,’ उनले भने, ‘अब अत्याधुनिक यो मेसिनले वीरमा जटिल रोगका बिरामीको उपचार सफल तुल्याउनेछ ।’
डा। बस्नेतका अनुसार नयाँ मेसिन भएकाले जडानमा सघाउन भियनाकै एक प्रतिनिधि आएका छन् भने चलाउन पहिलो चरणमा एकजनालाई तालिम पनि दिइएको छ । सेवाशुल्क कति लिने तय गरिनसकेको वीरले यो मेसिनबाट २४ घण्टामा ३० देखि ३५ बिरामीलाई सेवा दिन सक्ने जनाएको छ । मेसिन ल्याउन न्याम्सका उपकुलपति डा। बस्नेतसहितको टोलीले एक वर्षदेखि नै पहल गरेको थियो । उक्त मेसिनका लागि नेपालजस्तै थुप्रै देशहरूले आवेदन पनि दिए पनि नेपाललाई अनुदानमा मिलेको उनले बताए । ‘यसअघि हामीकहाँ ल्याइएको एड्भान्स मेसिन टोमोथेरापीले क्यान्सरलाई सेकेर निको पार्छ, अहिले ल्याएको मेसिनले क्यान्सरको सुरुवातदेखि जटिल अवस्थासम्म पत्ता लगाउँछ,’ उनले भने ।
‘स्पेक्ट–सिटी’ मेसिन भित्रिएसँगै अब जटिल प्रकारका रोगका विशेष परीक्षण गर्न नपाएर बिरामी भौँतारिनुपर्ने अवस्था अन्त्य हुने वीरका कार्यकारी निर्देशक डा। दिलीप शर्माले बताए ।