काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई प्रहरी परिसर काठमाडौंमा ल्याइएको छ । दुवै जनालाई प्रहरीले निवासबाटै पक्राउ गरेको हो ।
ओली र लेखकलाई पक्राउ गर्न ठूलो संख्यामा प्रहरी निवासमा पुगेका थिए । राति २ बजेतिर नै प्रहरी पुगेका थिए । बिहानमात्रै उनीहरुलाई नियन्त्रणमा लिइएको हो । अभियुक्त ओली र लेखकलाई आईतवार अदालतमा पेश गरिने भएको छ । आज शनिबार अदालत बिदा हुने भएकाले उनीहरूलाई आइतबार प्रहरीले थुनामै राखेर अनुसन्धान गर्न माग गर्दै अदालतमा पेस गर्नेछ । ओली र लेखक दुवैलाई आज जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिने प्रहरीले बताएको छ ।
एमालेका अध्यक्ष ओली नेतृत्वमा सरकार रहेका बेला भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनले ७६ जनाको ज्यान जानेगरी भएको आन्दोलनको मुख्य दोषी ओली र लेखकलाई ठहर गरेको छ ।