काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन भएको भोलिपल्टै जेनजी आन्दोलनमा हिंसात्मक दमन गरेको अभियोगमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्रेको छ।
गृहमन्त्री सुधन गुरुङको निर्देशनमा प्रहरीले एमाले अध्यक्ष ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट शनिबार बिहानै पक्राउ गरी काठमाडौँ जिल्ला प्रहरी परिसर पुर्याएको हो। अहिले उनलाई स्वास्थ्य परीक्षणका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा लगिएको छ।
ओलीलाई टिचिङ अस्पतालको ‘रेड जोन’को २७ नम्बर बेडमा राखिएको छ। रेड जोनमा विशेष र जटिल प्रकारका बिरामीलाई राख्ने गरिन्छ।
स्वास्थ्य जाँच भइसकेपछि पूर्वप्रधानमन्त्री ओलीलाई कहाँ राख्ने भन्ने टुंगो लाग्ने काठमाडौँ प्रहरी परिसरका प्रवक्ता, एसपी पवनकुमार भट्टराईले नेपालखबरलाई जानकारी दिए।
शनिबारै बिहान भक्तपुरको कटुन्जेस्थित घरबाट पक्राउ गरिएका कांग्रेस नेता लेखकलाई भने महाराजगन्जस्थित प्रहरीको २ नम्बर गण्खमा राखिएको छ।
तीनकुनेस्थित कान्तिपुर अस्पतालमा स्वास्थ्य परीक्षणपश्चात् पूर्वगृहमन्त्री लेखकलाई प्रहरीले २ नम्बर गढमा लगेको हो।