काठमाडौं- रुस र युक्रेनबिच पनि युद्ध जारी छ। बीबीसीका अनुसार यही मार्च २३ देखि अहिलेसम्म युक्रेनले रुसको लेनिनग्राद क्षेत्र सेन्ट पिटर्सबर्ग सहरनजिकै युक्रेनी सीमाबाट लगभग ८०० किलोमिटर पर कम्तीमा तीनवटा तेल पूर्वाधारमा बारम्मबार आक्रमण गरेको छ। जसका कारण ती स्थानमा धेरै दिनसम्म आगो लागेको छ।
बाल्टिक सागरस्थित प्रमुख बन्दरगाह उस्ट(लुगा र प्रिमोर्स्कमा छुट्टाछुट्टै आक्रमण गरिएका थिए। साथै नजिकैको किरिसी तेल प्रशोधन केन्द्रमा पनि हमला गरिएको थियो।
फिनल्यान्डस्थित ऊर्जा र स्वच्छ वायु अनुसन्धान केन्द्रका अनुसार २०२५ मा रुसको कुल तेल निर्यातको २२ प्रतिशत प्रिमोर्स्कबाट र २० प्रतिशत उस्टलुगाबाट निर्यात भएका थिए।
पछिल्लो तथ्यांकअनुसार मार्च २६ र २७ मा रुसका तीनै बाल्टिक बन्दरगाहबाट कुनै पनि जहाजमा तेल लोड गरिएको थिएन। मार्च २४ मा प्रिमोर्स्कमा जलिरहेको तेल पूर्वधारबाट धुवाँको मुस्लो निस्किरहेको स्याटेलाइट तस्बिरमा देखिएको थियो।
मार्च २७ मा उस्टलुगामा आगलागी र किरिसी तेल प्रशोधन केन्द्रमा ठुलो क्षति भएको पनि देखिएको थियो।