काठमाडौँ– निरन्तरको वर्षा र धुम्म मौसमका कारण भिजिबिलिटी कम हुँदा देशभरका हवाई उडान प्रभावित भएका छन्। बिहीबारदेखि परेको लगातार वर्षाका कारण विशेषगरी पोखरा, भरतपुर र तुम्लिङटार विमानस्थलमा उडान सञ्चालनमा समस्या देखिएको हो।
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णका अनुसार पोखरा, भरतपुर र तुम्लिङटारमा भिजिबिलिटी कम हुँदा उडान प्रभावित भएको हो। प्रतिकूल मौसमका कारण माउन्टेन फ्लाइटसमेत स्थगित गरिएको छ।
हाल बुद्ध एयरले भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढीलगायत आन्तरिक गन्तव्यसँगै भारतको वाराणसी र कोलकातामा समेत उडान गर्दै आएको छ।
यस्तै, यती एयरलाइन्सले पनि प्रतिकूल मौसमका कारण आफ्ना उडानमा ढिलाइ तथा समय परिवर्तन हुनसक्ने जनाएको छ। एयरलाइन्सले यात्रुलाई विमानस्थलतर्फ प्रस्थान गर्नुअघि आफ्नो वेबसाइट वा मोबाइल एपमार्फत उडानको पछिल्लो अवस्था जाँच गर्न अनुरोध गरेको छ।
यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार कम भिजिबिलिटीका कारण पोखराको उडान सञ्चालन हुन सकेको छैन। मौसमको प्रतिकूलताका कारण अन्य गन्तव्यतर्फका उडानसमेत निर्धारित समयमा सञ्चालन हुन नसकेको उहाँले जानकारी दिनुभयो।
आन्तरिक उडान प्रभावित भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको चापसमेत बढेको छ। मौसममा सुधार नआएसम्म उडानको समय परिवर्तन, ढिलाइ वा स्थगन हुनसक्ने भएकाले यात्रुलाई सम्बन्धित एयरलाइन्ससँग उडानको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र विमानस्थल जान आग्रह गरिएको छ।