काठमाडौँ– हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बंगालको खाडीमा विकसित बलियो न्यून चापीय क्षेत्र भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा आसपासमा रहेको छ। उक्त प्रणालीले सुरुमा बलियो न्यून चापीय क्षेत्रकै तीव्रता कायम राख्दै उत्तर–पश्चिमतर्फ सर्ने सम्भावना छ। त्यसपछि आगामी २४ घण्टामा उत्तर–उत्तरपश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुने पूर्वानुमान गरिएको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भू–भागका अधिकांश स्थान तथा सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भाग, कर्णाली प्रदेशका पहाडी भू–भागका अधिकांश स्थान तथा मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान छ। सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने सम्भावना छ।
त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने तथा मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
भारी तथा अति भारी वर्षाका कारण नदी तथा खोलानालामा पानीको बहाव बढ्न, सडक तथा भौतिक संरचनामा असर पर्न र पहिरोको जोखिम बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन आवश्यक देखिएको छ।
यसैगरी, मधेस तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा हावाहुरी चल्न सक्ने महाशाखाले पूर्वानुमान गरेको छ।