पोखरा- पोखरा महानगरपालिका–६ मा सञ्चालन भइरहेको ट्रान्स पार्टीमा प्रहरीले छापा मार्दा विभिन्न प्रकारका लागूऔषधसहित ३८ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गए राति वडा प्रहरी कार्यालय बैदामको टोलीले छापा मारेको हो ।
कृष्ण पराजुलीको पुरानो घर भाडामा लिएर सञ्चालन गरिएको उक्त पार्टीमा खानतलासी गर्दा एमडीएमए, चरेस जस्तो देखिने कालो पदार्थ, कोकिन जस्तो देखिने सेतो धुलो, ‘खात’, आइस (एम्फेटामिन), सायकेडेलिक मशरुम तथा एलएसडी (पेपर र झोल) बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा ३९ वर्षीय भारतीय नागरिक सृष्टि चन्द, पोखरा–६का २७ वर्षीय विशाल परियार, पोखरा–५ प्रस्याङ का २५ वर्षीय आशिष दर्जी, पोखरा–६ का ३२ वर्षीय बमेन्द्र पुन, दाङका २९ वर्षीय सौरभ महरा, भारतका ३५ वर्षीय अनुपम शर्मा, काठमाडौँका २१ वर्षीय निकुञ्ज कार्की, ब्राविलका ४८ वर्षीय चार्लस गुवाईवा, ३१ वर्षीय सक्षम कोइराला, ३१ वर्षकै रोशन अधिकारी, २८ वर्षीय विवेक पोखरेल र २६ वर्षीय सौरभ भनिने लोकबहादुर घर्ती मगर रहेका छन्।
पक्राउ परेका मध्ये ८ जनालाई लागु औषध र ४ जनालाई अभद्र व्यवहार सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता हरि बहादुर बस्नेतले जानकारी दिए ।
प्रहरीले यस्ता अवैध गतिविधिमाथि निगरानी थप कडा पारिएको र दोषीलाई कानुनअनुसार कारबाही गरिने जनाएको छ।